धरहरा आजदेखि १२ घण्टा खुला

धरहरा आजदेखि १२ घण्टा खुला

बिहान १० देखि बेलुका ४बजेसम्म खुला रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धरहरा बिहीबारदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला रहने छ ।

यसअघि दैनिक बिहान १० देखि बेलुका ४बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो ।

त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने छ । अब शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो । गएको मंसिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

सार्वजनिक बिदाको दिनमा र बेलुकाको समयमा धरहरा खुला राख्दा धरहरा चढ्न आउनेको संख्या बढ्ने अनुमान शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका छ ।

हालसम्म सात महिनाको अवधिमा धरहरा अवलोकनकर्ताहरूलाई टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६ सय ५० रूपैयाँ राजस्व संकलन भएको छ । धरहरा सञ्चालन भएयताको अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढिसकेका छन्।

गत मंसिर ९ गतेदेखि सरकारले धरहरा चढ्न दुई सय रूपैयाँ शुल्क तोकेको छ। त्योभन्दा पहिले निःशुल्क धरहरा चढ्ने सुविधा उपलब्ध थियो। संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो।