नेपाली सेना कुनै व्यक्तिकाे हाेइन राष्ट्रको हाे, खेलाँची गर्न मिल्दैन : पूर्वसहायक रथी बानिया


काठमाडौं– नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्मबहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने,‘यो विद्येयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ।’

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सुरक्षा परिषदको बैठकमा मन्त्रीहरु सहभागी नहुने तर ती मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भन्ने कुरा पनि हुन्छ त ? भन्दै प्रश्न गरे ।

उनले थपे,‘सेना परिचालनसम्बन्धी सल्लाह दिने सर्वश्रेष्ठ व्यक्ति को हो त भन्दा प्रधानसेनापति हो, प्रधानसेनापतिलाई सुरक्षा अवस्था, कमिकमजोरी र सेनाको क्षमता के छ ? भन्ने कुरा राम्रोसँग थाहा हुन्छ, उहाँले दैनिक रुपमा देशको सुरक्षा अवस्था कस्तो छ भनेर मुल्यांकन गरिराख्नुभएको हुन्छ । तर, सेना परिचालनसम्बन्धी अहिले बनेको विद्येयकमा उहाँ सदस्य हुनुहुन्न । उहाँलाई सदस्यमा राखिएको छैन। भनेपछि यो कस्तो किसिमको विद्येयक हो त ? उनले प्रश्न गरे।

नेपाली सेना राष्ट्रको सेना भएको बताउँदै बानियाँले भने,‘नेपाली सेना राष्ट्रको सेना, यो हरेक नेपालीहरुको सेना हो, यो कुनै एक व्यक्तिको सेना होइन । पूर्व मेचिदेखि महाकालीसम्म र हिमालदेखि पहाड र पहाडदेखि तराईसम्म सबैको सेना हो । राष्ट्रको महत्वपूर्ण शक्ति संयन्त्र भनेको नै सेना हो । त्यसकारण सेनासँग खेलाँची गर्न मिल्दैन ।’

उनले संसारको अधिकांश राष्ट्रमा राष्ट्रिय सुरक्षा परिषद हुने उल्लेख गरे । उनले भने,‘नेपालले विश्वको चलनचल्तीको अभ्यास गरिरहेको छ। वर्तमान विद्येयक सान्दर्भिक छैन् । यो विद्येयकले कुनै एक व्यक्तिको महत्वकांक्षा पुरा गर्न मद्दत गर्ने देखिन्छ, तर सरकारले त्यो विद्येयकबारे सोच्नुपर्ने बेला आएको छ ।’

उनले सेना परिचालनसम्बन्धी विद्यमान संवैधानिक प्रावधानमा केही पनि कमी नभएको स्पष्ट पारे । उनले भने,‘सेना परिचालनसम्बन्धी संविधानमा भएका प्रावधानमा कुनै कमिकमजोरी छैन् । वर्तमान विद्येयकलाई खारेज गर्नुपर्छ । मलाई लाग्छ अहिलेको सरकारसँग बहुमत छ, उनीहरुले विद्येयक पेश गरेका छन् । उनीहरुले पास गर्न सक्छन् । तर यो विद्येयक पास गर्नुहुँदैन् । यो देशको हितमा छैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement