काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको वास्तविक
अवस्थाभन्दा फरक दृश्य सामाजिक सञ्जालमा फैलिँदा विपद्का बेला सूचना व्यवस्थापनमै समस्या देखिएको भन्दै सम्वद्ध पक्षलाई सचेत गराएको छ ।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलसँग असम्बन्धित भिडियोहरू बाढी प्रभावित क्षेत्रको भन्दै सामाजिक सञ्जालमा फैलाउने क्रम बढेकोमा चिन्ता जनाए ।
सामाजिक सञ्जालका भ्रामक सामग्रीले घटनाको वास्तविक अवस्थाबारे नागरिकलाई अन्योलमा पार्नुका साथै अनावश्यक त्राससमेत सिर्जना गरेको उनको भनाइ थियो ।
‘हाम्रो फिल्डमै नभएका कतिपय फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिइरहेको पाएका छौं’, उप्रेतीले भने, ‘त्यस्ता भिडियोले दिने गलत सूचनाप्रति सबै सचेत हुनुपर्ने जरुरी छ ।’
विपद्का बेला सामाजिक सञ्जालमा आउने प्रत्येक सामग्रीलाई वास्तविक घटनाका रूपमा नलिन आग्रह गर्दै उनले सूचना साझा गर्नुअघि त्यसको सत्यता जाँच्न पनि आग्रह गरे ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहतको काम भइरहेको भन्दै गलत सूचनाको माध्यमबाट भ्रम नफैलाउन सबैलाई सचेत गराएको छ ।




प्रतिक्रिया