काठमाण्डु – पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाड़ी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाण्डुमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरूले विरोध गरेका छन् ।
महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गर्न गएकोमा घोर भर्त्सना गरिएको छ ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरूबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदायमाथि मात्रै नभएको अपितु हिन्दूहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमिमाथिको आक्रमण भएको ठहर गरेका छन् ।
विश्वभरबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै १०० जना मिर्गाैला रोगीको निःशुल्क डायलासिस भइरहेको अवस्थामा भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठूलो आर्थिक लाभ प्राप्त गरेको आरोप सहभागीले लगाएका छन् ।
कार्यक्रममा उपस्थित पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्नेमाथि ठूलो षड्यन्त्रको एउटा सानो सुरुआत भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिसनरीहरूको भर्ती केन्द्र बनेको पराजुलीको भनाइ छ । उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।
कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए । वैद्यले भने, ‘यदि मारवाडी सेवा समितिले चाहेको भए उनीहरूसँग कैयौ अवसर थिए, जब त्यो जग्गा आफ्नो नाममा गराउन सक्थे तर यो जग्गा मारवाडी सेवा समितिले आफ्नो नाममा कहिल्यै गराएन । महानगरपालिकालाई जबरजस्ती यस विषयमा प्रवेश गराएर कोषले ठूलो गल्ती गर्यो ।’ कोषले संस्कृति मन्त्रालयको जग्गालाई महानगरपालिकाको जिम्मा लगाउनु नै गलत भएको वैद्यले बताए ।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल, विश्व हिन्दू महासंघ लगायत एक दर्जन संघसंस्थाका प्रतिनिधिहरू थिए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिँदा पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली गुण्डा नाइके जस्तै रहेको बताए । यस विषयमा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले मारवाडी सेवा समितिले नै धर्मशालाको सञ्चालन गर्न पाउने मागप्रति ऐक्यबद्धता जनाए ।




प्रतिक्रिया