बलिउडका ‘ही म्यान’ थिए धर्मेन्द्र

बलिउडका ‘ही म्यान’ थिए धर्मेन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार भारतीय सिने क्षेत्रमा अचानक उदासी छायो । कारण भारतीय सिनेमाका एक महान् व्यक्तित्व धर्म सिंह देओल अर्थात् धमेंन्द्रको ८९ वर्षको उमेरमा निधन भयो ।

सन् १९६० मा अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले आफ्नो पाँच दशकभन्दा लामो करियरमा ३०० भन्दा बढी चलचित्रहरूमा काम गरे , जसले उनलाई बलिउडका ‘ही म्यान’को उपनाम दिएको छ।

पंजाबको लुधियाना जिल्लामा ८ डिसेम्बर १९३५ मा जन्मेका धर्मेन्द्रले फिल्मफेयर पत्रिकाको नयाँ प्रतिभा पुरस्कार जितेर मुम्बईको यात्रा तय गरेका थिए। उनले सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’बाट डेब्यू गरेका थिए। १९६६ को एक्सन फिल्म ‘फूल और पत्थर’ उनको एकल नायकको पहिलो एक्सन चलचित्र बन्यो। जसले उनलाई पहिलो पटक सर्वश्रेष्ठ अभिनेताका लागिफिल्मफेयर नामांकन दिलायो र सो वर्षको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको थियो।

उनले मीना कुमारीसँग ‘फूल और पत्थर’ जस्ता सात सफल चलचित्रमा काम गरेका थिए। अभिनेत्री हेमा मालिनीसँगको उनको जोडी सबैभन्दा सफल रह्यो, जससँग उनले शोलेु, सीता और गीता जस्ता धेरै हिट फिल्महरू दिए र पछि उनीसँगै विवाह पनि गरे।

सन् ६० को दशकको अन्त्यतिर धर्मेन्द्रले सफलताको सिँढी चढ्न थालेका थिए। प्रतिस्पर्धा कडा थियो। शम्मी कपूर, राजेश खन्ना र अमिताभ बच्चनजस्ता कलाकारको एकपछि अर्को जगजगी थियो।

यी सबैबीच धर्मेन्द्र शायद एक्लो अभिनेता हुन् जो सन् ६० देखि ८०को दशकसम्म चर्चामा टिकिरहे।

धर्मेन्द्रका हकीकत, दिल ने फिर याद किया, ममताु, मेरे हमदम मेरे दोस्त जस्ता फिल्ममा बिमल राय, ऋषिकेश मुखर्जी, चेतन आनन्दजस्ता निर्देशकले उनलाई तिखारेका थिए।

सन् १९७० को दशकमा धर्मेन्द्रको एक्सन, रोमान्स, कमेडी, कर्मसियल सबै किसिमका सिनेमा आए (जीवन मृत्युु , सीता और गीता , चरसु , ब्ल्याकमेलु , चुपके चुपके –अर्थात् एक पछि अर्को हिट फिल्म दिए। सन् १९७५ मा शोलेमा वीरूको लोकप्रियता त धेरै माथि पुग्यो।

हृषिकेश मुखर्जी निर्देशित सत्यकाममा उनको अभिनयको समीक्षकहरूले अत्यधिक प्रशंसा गरेका थिए। १९७५ को ऐतिहासिक फिल्म शोले मा वीरूको रूपमा उनको भूमिका अविस्मरणीय छ, जसलाई आज पनि सबै समयका शीर्ष २५ हेर्नै पर्ने बलिउड चलचित्रहरूमा सूचीकृत गरिएको छ।

उनले १९९७ मा हिन्दी सिनेमामा गरेको अतुलनीय योगदानको लागि फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए भने सन् २०१२ मा भारत सरकारले उनलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषणबाट सम्मानित गरेको थियो।

सन् १९५४ मा १९ वर्षको उमेरमा प्रकाश कौरसँग पहिलो विवाह गरेका धर्मेन्द्रले उनीबाट दुई सफल अभिनेता छोराहरू सनी देओल र बबी देओल र दुई छोरीहरू छन्। दोस्रो विवाह उनले अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए। जसबाट उनीहरूका दुई छोरीहरू, अभिनेत्री ईशा देओल र आहना देओल छन्।

निर्माताको रूपमा उनले विजयता फिल्म्स नामक निर्माण कम्पनी स्थापना गरेर आफ्ना छोराहरूलाई चलचित्र क्षेत्रमा ल्याएका थिए। यस कम्पनीले घायल जस्ता समीक्षक र व्यावसायिक रूपमा सफल फिल्महरू पनि निर्माण गरेको छ। जसले राष्ट्रिय फिल्म पुरस्कार समेत जितेको थियो।

पछिल्लो समय अभिनय बाहेक धर्मेन्द्रले राजनीतिमा पनि कदम राखेका थिए। उनी भारतीय जनता पार्टी भाजपाको तर्फबाट सन् २००४ देखि २००९ सम्म राजस्थानको बीकानेर निर्वाचन क्षेत्र को प्रतिनिधित्व गर्दै १५ औं लोकसभाको सदस्य बनेका थिए।

उनले २००७ मा लाइफ इन अ मेट्रो र अप्ने मार्फत चलचित्र क्षेत्रमा सफल पुनरागमन गरेका थिए। धर्मेन्द्रले यमला पगला दीवाना फ्रेन्चाइज र रियालिटी शो इन्डियाज गट ट्यालेन्टको निर्णायकको रूपमा पनि काम गरेका थिए।

धर्मेन्द्रको मृत्यु भएसँगै उनको जीवनले कला, साहस र समर्पणको एक अविस्मरणीय विरासत छोडेको छ।

लेखक राजीव विजयकरले आफ्नो किताब ‘धर्मेन्द्र : नट जस्ट ए ही मैन’मा लेख्छन्–सन् १९९० देखि सन् २००३ लाई उनको करिअरको पछाडि फर्केको समय भन्न सकिन्छ। ‘धरमजीको प्रशंसकको नाताले म भन्न सक्छु कि उनलाई जे जस्तो बाध्यता भए पनि उनले आफ्नो करिश्मालाई धुमिल गराएर सी ग्रेडको फिल्म गरे र प्रशंसकको विश्वास तोडे’ त्यसै किताबमा राजकुमार सन्तोषी बताउँछन्।

अभिनेता धर्मेन्द्रको निधनमा अमिताभ बच्चनले दुःख जनाएका छन् ।

धर्मेन्द्र र अमिताभले कल्ट फिल्म शोलेमा जय र वीरूको अमर भूमिका निर्वाह गरेका थिए।

बच्चनले एक्समा लेखेका छन्, ‘अर्को एक बहादुर दिग्गजले हामीलाई छोडेर गएका छन्। उनले स्टेज छोडेका छन्। उनले असह्य प्रतिध्वनियुक्त मौनता छोडेका छन्। धरम जी !!!’

‘उहाँ महानताको प्रतीक हुनुहुन्थ्यो। उहाँ आफ्नो प्रभावशाली उपस्थितिको लागि मात्र नभई आफ्नो विशाल हृदय र सरलताको लागि पनि परिचित हुनुहुन्थ्यो !!! उहाँले आफू आएको पञ्जाब गाउँको माटोको सरलता आफूसँगै ल्याउनुभयो।’