सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा


काठमाण्डु – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ ।पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् ।

प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा रहिआएको छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पचास दिनसम्म पानीको सतहमुनि बस्ने भएकाले मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी पनि खुवाउने परम्परा पनि छ ।

सोमबार राति १ बजेदेखि आज बिहान ६ बजेसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । आजको विशेष पूजा पनि राति नै सम्पन्न गरिएको छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि मङ्गलबार पशुपतिनाथलाई उपवास राख्ने भएकाले आज अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनको भनाइ छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाइ घाममा शयन गर्ने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइने र बेलुकीे शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement