काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
आईतबार राप्रपाको असन्तुष्ट पक्षको बैठक आह्वान गरेका राणाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनको मिति तय गर्ने र कारबाही भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘आजको भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरूलाई कारबाहीहरू भएको छ र निलम्बन भन्ने कामहरू भएको छ, त्यस्ता कुराहरूलाई पनि पार्टीले फिर्ता लिनुपर्छ र अब महाधिवेशन र आन्दोलनकै क्रममा हामीहरू जानुपर्छ भन्ने एउटा निष्कर्षमा हामी पुग्यौं ।’
उनले राजा सहितको सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य, संघीयता र गणतन्त्रको खारेजी जस्ता पार्टीको एजेण्डाहरूलाई पूरा गर्न जेनजीहरूले उठाएको आन्दोलनलाई समर्थन गरेको बताए ।
‘वर्तमान परिस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डालाई हामीले अगाडि सार्नुपर्छ । एजेन्डा भनेको राजा सहितको सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य, संघीयता र गणतन्त्रको खारेजी र भ्रष्टाचारलाई निर्मूल गरेर एउटा नयाँ नेपाललाई अगाडि सार्ने र जेनजीहरूले उठाएको आन्दोलनको पनि हामीले समर्थन गरेका छौं,’ उनले भने ।
हालको संविधानमार्फत जेनजी पुस्ताको माग सम्बोधन हुन नसक्ने उनले बताए ।




प्रतिक्रिया