नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमसेर राणाले कुनै पनि हालतमा बुटवललाई प्रादेशिक राजधानी स्वीकार्न नसकिने बताएका छन् ।
दाङको तुलसीपुरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका नेता तथा नेपालगञ्ज नगरप्रमुख राणाले नेकपाले दाङलाई राजधानी बनाउँछौं भन्दै भोट मागेको भए पनि आजसम्म त्यो काम नगरेको भन्दै आपत्ति जनाए ।
‘हामी पुरानो मध्यपश्चिमवासीलाई कुनै हालतले बुटवल स्वीकार हुने छैन,’ राणाले भने, ‘दाङ भन्दा पुर्ब राजधानी हामीलाई स्विकार्य छैन, `’
दाङसम्म राजधानी भएमा बाँके–बर्दियाका जनतालाई चित्त बुझाउन सजिलो हुने तर्क गर्दै उनले दाङभन्दा पूर्व राजधानी अझै बुटवल लगियो भने त्यो सहन नसक्ने चेतावनी दिए ।
बुटवल राजधानी भएका मध्यपश्चिमका जनतालाई त्यो अपायक हुने मेयर राणाले स्पष्ट पारे ।
बर्दिया, बाँके र दाङका सबै सम्बन्धहरू कर्णाली प्रदेशसँग गाँसिएको उल्लेख गर्दै मेयर राणाले राजधानी नेपालगञ्ज अथवा वा दाङ भए स्वीकार्य हुने बताए ।
तर, त्यो भएन भने दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभिन सजिलो हुने उनले तर्क गरे । बरू सुर्खेतलाई स्वीकार गर्न सजिलो हुने तर बुटवल जान असजिलो हुने उनले बताए ।
‘यो कुरालाई गाँठो बानेर राख्नुहोस्,’ मेयर राणाले भने, ‘हामी त्यो निर्णयको प्रतीक्षामा छौं । केही गरेर बुटवलमा राजधानी भयो भने बाँके र बर्दियाले ठूलो आन्दोलन गर्नेछन् ।’ उनले त्यो आन्दोलनमा दाङ पनि सहभागी भए अझै राम्रो हुने धारणा व्यक्त गरे ।




प्रतिक्रिया