काठमाण्डु– सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार दिउंसो बसेको बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो ।
सरकारले प्रहरीमा वरियतामा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छयाउंदै तेस्रो नम्बरमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो । सिंह एसएसपीसम्म भने वरियतामा अघि थिए । पोखरेलले डीआईजी र एआईजीमा बढुवा हुंदा सिंहलाई उछिनेका थिए ।
शनिवार बसेको सत्तारुढ दलको बैठकमा वरियता कायम गर्न नेताहरुले सुझाव दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले सिंहलाई आईजीपी बनाउने बचन दिइसकेको भन्दै पोखरेललाई बनाउन नसकिने जवाफ दिएका थिए ।
आइतबार बिहान सुरुमा सिंहको प्रस्ताव गृहबाट तयार भएपनि पोखरेललाई बनाउन चर्को दबाव आएपछी मन्त्रिपरिषदको बैठक सरेको थियो । सशस्त्रमा नियुक्त गरेका अर्याल भने आईजीका एक्ला दाबेदार थिए । उनि गत साता मात्र एआईजीमा बढुवा भएका थिए । अर्याल चार वर्षका लागि सशस्त्रको प्रमुख बन्नेछन् ।




प्रतिक्रिया