काठमाण्डु –अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् ।
बोर्डका क्रियाशील कर्मचारी युनियन तथा संगठनहरूले मन्त्रालयको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
कर्मचारीहरूको आन्दोलनका कारण बोर्डको कामकाज ठप्प भएको छ । कर्मचारीहरूले विभिन्न प्लेकार्ड बोकेर बाहिर धर्नामा बसेका छन् । उनीहरूले बोर्डमा तालाबन्दी समेत गरेका छन् । आफूहरुको माग पूरा नभएसम्म बोर्डमा लगाएको ताला नखोल्ने र बोर्ड अध्यक्षलाई गाडी पनि चढ्न नदिने उनीहरुको अडान छ।
बुधबार कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिएका थिए ।
हाल कार्यरत र पेन्सन पाइरहेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् । तर हालै मन्त्रिस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गरिएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
कर्मचारीहरूले बोर्डको स्वायत्ततामाथि गरिएको निरन्तर हस्तक्षेपविरुद्ध आपत्ति जनाउँदै निर्णय खारेज गर्न माग गरेका छन् ।
बोर्डका कर्मचारी युनियन र संगठनहरूले बोर्डको स्वायत्तता तथा नियामक क्षमतामा निरन्तर हानिकारक हस्तक्षेप तत्काल रोक्नुपर्ने माग गर्दै राजस्व सचिवस्तरबाट जारी भएको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णय तत्कालै खारेज गरिनुपर्ने बताएका छन् ।
बोर्डले आफ्नै स्रोतबाट सञ्चालन गर्ने स्वतन्त्र निकायको हैसियत कायम राख्दै सेवासुविधा सम्बन्धी प्रश्नहरू बोर्डको सञ्चालक समिति र सम्बन्धित ऐनअनुसार समाधान गरिनुपर्ने, मन्त्रालय र बोर्डबीच छलफल आवश्यक भए सहमतिपूर्ण र पारदर्शी तरिकाले संवाद सुरु गर्न र कर्मचारीमा उत्पन्न भय तथा अनिश्चय हटाउन नीतिगत सुनिश्चितता दिनुपर्ने उनीहरूको माग छ ।
कर्मचारी युनियनले बोर्डको स्थापनाकालदेखि प्राप्त सुविधा सम्बन्धी निर्णयले मात्र नभई सेवानिवृत्त वा निधन भइसकेका कर्मचारीबाट समेत रकम असुल गरिने निर्णय तय गरिएको हुँदा नीतिगत रूपमा अस्वीकृतयोग्य र अव्यवहारिक बनाइएको उनीहले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
युनियनका संयोजक टोलीले अर्थ मन्त्रालयसँग वार्ताका लागि औपचारिक अनुरोध पठाएपनि जवाब नआएको जनाएको छ ।









प्रतिक्रिया