काठमाण्डु– देशको पूँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) गम्भीर नेतृत्व संकटमा फसेको छ।
अर्थ मन्त्रालयको हस्तक्षेप फिर्ता लिनुपर्ने र बोर्डको स्वायत्तता कायम गर्नुपर्ने माग गर्दै २३ दिनदेखि बोर्डका कर्मचारीहरू आन्दोलनमा छन्।
कार्यालयमा कर्मचारीको आन्दोलन चर्किंदै जाँदा अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सुरक्षाकर्मीको स्कर्टिङमा रातारात बाहिरिएका थिए । उनी गत सोमबारदेखि कार्यलयमा पुगेका छैनन्।
लगानीकर्ताले समेत गत सोमबार बोर्ड घेराउ गरेका थिए। त्यसपछि अध्यक्ष श्रेष्ठ रातिको समय छोपेर बोर्डबाट बाहिरिएका थिए। सो घटनापछि उनी सम्पर्कविहीन छन्।
कर्मचारीहरूले अध्यक्ष श्रेष्ठको राजीनामा माग्दै आन्दोलन चर्काएका छन् । उनीहरु भन्छन् ‘स्वायत्त नियामक संस्थामा मन्त्रालयको हालीमुहालीले नीति बनाउने स्वतन्त्रता नै सखाप भएको छ। यसले पूँजी बजार समस्यामा परेको छ।’
बोर्डको नेतृत्व संकट चुलिँदै जाँदा सेबोनका दैनिक प्रशासनिक कामकाज ठप्प छन्। नीतिगत निर्णय त टाढाको कुरा, सामान्य कागजी प्रक्रिया समेत अघि बढ्न सकेको छैन।
यता अर्थ मन्त्रालय भने बेखबरजस्तै देखिएको छ । अहिलेसम्म कुनै ठोस पहल नगरेको आरोप अर्थ मन्त्रालयमाथी लगाइएको छ।
बिचौलिया दीपक भट्टको जोडबलमा अध्यक्ष श्रेष्ठको नियुक्ति भएको आरोप लाग्दै आएको छ ।




प्रतिक्रिया