काठमाण्डु – प्राथमिक शेयर निष्कासन (आईपीओ) अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत कमिसन मागेको विषयमा अख्तियार घुसेको छ ।
अध्यक्ष श्रेष्ठले कमिसन माग्दै कमिसन दिनेलाई अनुमति लिएको र कमिसन नदिनेको फाइल रोकेर राखेको चर्चाबीच अख्तियारले छानबिन अगाडि बढाएको छ । छानबिनकै क्रममा अख्तियारले अध्यक्ष श्रेष्ठसँग बयान लिएको छ ।
आईपीओ अनुमति कमिसन काण्डमा अध्यक्ष श्रेष्ठले सरकारबाट साथ पाइरहेका बेला अख्तियारले भने छानबिन गर्दैछ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) अध्यक्ष गणेश कार्की लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कमिसनको विरोध गरे पनि सरकारले उनलाई स्पष्टीकरणसम्म सोधेको छैन । उनको कमिसन काण्डमा सरकार, अर्थमन्त्री विष्णु पौडेलको समर्थन देखिन्छ ।
अख्तियारनिकट स्रोतका अनुसार अध्यक्ष श्रेष्ठको प्रारम्भिक बयान भएको र अब उच्च अधिकारीले थप बयान लिनेछन् । अध्यक्ष श्रेष्ठले आईपीओ अनुमति दिँदा ५–७ प्रतिशतसम्म कमिसन मागेको आरोप छ ।
अनुमतिका लागि प्रस्ताव पेश गरेका १४ कम्पनीका फाइललाई प्रक्रियाबाट हटाएपछि प्रतिशोध साँधेको हुनसक्ने आशंकाबीच अख्तियारले अनुसन्धान अगाडि बढाएको छ ।
इप्पानका प्रतिनिधिले अध्यक्ष श्रेष्ठले बिचौलियामार्फत कमिसन मागेको कल डिटेल, ह्वाट्स एप म्यासेज र अनि अडियो अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बुझाएका स्रोतले जनाएको छ ।




प्रतिक्रिया