काठमाण्डु – सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा थप दुई दरबन्दी थप्ने तयारी गरेको छ ।एआईजीका आकांक्षीहरु बढेपछि सरकारले पुन दुईवटा दरबन्दी थप्ने तयारी गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अझै थप दुईवटा दरबन्दी थपेर प्रस्ताव तयार गर्न निर्देशन दिइसकेका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले २३ पुसमा एआईजीको तीनवटा दरबन्दी थप गर्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको छ ।
तर अर्थमन्त्री जनार्दन शर्माले आफुनिकट प्रहरी अधिकारी बढुवा हुनुपर्ने भन्दै बार्गेनिङ गरेपछि तीन एआईजीको दरबन्दी थप प्रक्रिया केहि समय रोकिएको थियाे । तर, उक्त प्रस्तावमा एआईजीको दरबन्दी थपबारे मन्त्रीपरिषदमा सैद्धान्तिक सहमति भइसकेको छ ।
तीनवटा दरबन्दीको लागि सरकारले तीनजना डिआईजीको नाम कन्फर्म गरिसकेको छ । जसमा डिआईजीहरु धीरज प्रताप सिंह, रवीन्द्र धानुक र उत्तम सुवेदी रहेका छन् ।
तर, आफूले रुचाएको व्यक्तिको नाम छुटेपछि गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँणले समेत एआईजीको दरबन्दी थप्न दबाब दिएको बताइन्छ । स्रोतका अनुसार एआईजीको प्रस्तावित थप दरबन्दी तीनबाट पाँच पुर्याउनको लागि खाँणले गृहमन्त्रीलाई दबाब दिएकी हुन् ।
मञ्जु खाँणले समेत एकजना डिआईजी आफ्नो कोटाबाट एआईजी हुनुपर्ने अडान राखेकी छिन् । स्रोतका अनुसार मन्जुले ईश्वरबाबु कार्कीलाई जसरी भएपनि एआईजी बनाउनुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई दबाब दिएकी छन् । कार्की हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।
जबकी कार्कीले आउँदो १९ वैशाखमा आईजी क्षेत्रीसँगै अवकाश पाउँदैछन्न् । त्यसकारण पनि आईजीको ब्याचका डिआईजीहरूलाई बढुवा गर्न नहुने दबाब गृहदेखि बालुवाटारसम्म पुगेपनि गृहमन्त्री पत्नी हाबी भएसँगै कार्की एआईजी बन्न लागिपरेका छन् ।
यस्तै वसन्त पन्त र वसन्त लामा समेत एआईजीको दौडमा छन् । प्रहरी प्रधान कार्यालयले एआईजी तहमा नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो तेस्रो पटक हो । प्रधान कार्यालयले यसअघि भदौ र कात्तिकमा पनि दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो ।
नेपाल प्रहरीमा हाल पाँच जना एआइजीको दरबन्दी छ । यसअघि प्रस्ताव गरिएका तीन र अब दुई दरबन्दी थपिँदा प्रहरीमा १० जना एआइजी हुनेछन् ।




प्रतिक्रिया