काठमाडौं – प्रहरी संगठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद हट्ने भएको छ । संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएका बेला प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन दिएका हुन् ।
आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षण गर्दै डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुले हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन दिए । डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताए ।
डिआइजी पोखरेलले संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन् । प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले आफ्नो गलत स्वार्थ र गलत आचरणका कारण जानी जानी गल्ती गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने चेतावनी दिँदै उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।




प्रतिक्रिया