काठमाण्डु – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । एसएसपीबाट डीआईजीमा बढुवा भएका डीआईजीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच आइजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा भएकाहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।
उनीहरुलाई नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयले २०७९ असार १७ गते बढुवा गरेको थियो । प्रहरी महानिरीक्षकमा बढुवा भए पनि उनीहरुको जिम्मेवारी भने अझै निश्चित भइसकेको छैन । ७ वटा प्रदेशसहित महत्वपूर्ण निकाय नेतृत्वविहीन छन् । यस्तै सीआईबी, उपत्यका प्रहरी कार्यालय र हेडक्वार्टरका सबै विभाग डीआईजीविहीन छन् ।
प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेश पनि नेतृत्वविहीन छन्। मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय र सुदूरपश्चिममा मोहनकुमार आचार्य कार्यरत छन् । नेपाल प्रहरीमा जनपदतर्फ २० जना डीआईजीको दरबन्दी रहेकोमा १७ जनाको पदस्थापन हुन बाँकी छ । सबै प्रदेशमा नयाँ डीआईजी पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया