काठमाण्डु – सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको मुद्दामा आज सुनुवाई हुँदैछ । उक्त मुद्धाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ ।
यसअघि गत शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सुनुवाई गर्दै अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
न्यायाधीश सिन्हाले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै श्रेष्ठलाई अनिवार्य अवकाश दिइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएका थिए ।
डीआईजीको चार वर्षे कार्य अवधिका कारण श्रेष्ठ गत असार ९ गते अवकाशमा गएका थिए । तर असार १९ गतेमात्रै अवकाशमा गएको पत्र पाएपछि उनले सर्वोच्चमा निवेदन दिएका थिए ।
सशस्त्र प्रहरी नियामवली अनुसार सशस्त्र प्रहरी नायव महानिरीक्षकको उमेर हद ५६ वर्ष नपुगेको र ३० वर्षे सेवाअवधि ननाघेको अवस्थामा एक वर्ष सेवा अवधि थप गर्न सक्ने व्यवस्था छ । श्रेष्ठको सेवा अवधि २५ वर्ष ७ महिना र उमेर ५२ वर्ष मात्रै भएको छ । श्रेष्ठको एक वर्षे सेवा अवधि थप हुने वा नहुने भन्ने विषयमा सर्वोच्चले आज फैसला गर्नेछ ।




प्रतिक्रिया