काठमाण्डु – डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएको छ ।
सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले उत्पादन गरेको बिस्कुटमा रौँ भेटिएको हो । रौँ भेटिएपछि सरकारले उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा पुगेर अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । अनुसन्धानका क्रममा कैफियत देखिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड (ङ) बमोजिमको कसुर देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ख बमोजिम उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले प्रमाणित गरेको विवरण अनुसार उद्योगलाई जरिवाना बापतको रकम सात दिनभित्र सरकारी खातामा जम्मा गरी सोको प्रमाण पेश गर्न आदेश दिइएको छ ।
विभागले उजुरीका साथ प्राप्त भएका बिस्कुटका तस्बिरहरू पनि सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगलाई कारबाही गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया