चुनावी घोषणापत्रमा डिजिटल एजेन्डाको खोजी

चुनावी घोषणापत्रमा डिजिटल एजेन्डाको खोजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी फागुन २१ गते हुने चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ ।

बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा आईसीटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै डिजिटल नेतृत्व र नीतिमा छलफल गरेको हो ।

कार्यक्रममा फोकस ग्रूप डिस्कसन, किनोट प्रस्तुति तथा प्यानल छलफलमार्फत नीति निर्माता, राजनीतिक नेता, आईटी विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।

फोकस ग्रूप छलफललाई ६ वटा समूहमा विभाजन गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल सीप तथा मानव संसाधन, डिजिटल गभर्नेन्स, डिजिटल अर्थतन्त्र, एआई तथा नेक्स्ट जेन प्रविधि, साइबर सुरक्षा तथा स्टार्टअप तथा इनोभेसन इकोसिस्टमजस्ता विषयमा छलफल गरिएको थियो ।

प्रत्येक समूहका प्रतिनिधिले डिजिटल रूपान्तरणका लागि आवश्यक कार्ययोजनाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा आईटी विज्ञ मनोहर भट्टराईले डिजिटल नेतृत्व विषयमा किनोट प्रस्तुति दिएका थिए ।

डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको उल्लेख गर्दै उनले स्टार्टअप तथा इनोभेसन इकोसिस्टमको विकास गर्दै सरोकारवालाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘आउँदो निर्वाचनका लागि राजनीतिक नेतृत्वको नजरमा डिजिटल एजेन्डा’ विषयक प्यानल संवादमा वक्ताहरूले दलहरूको घोषणापत्रमा डिजिटल प्रविधिलाई प्राथमिकता दिन थालिएको बताएका थिए ।

उनीहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्यानल संवादमा नेपाली कांग्रेसका ई. अमृत ज्ञवाली, नेकपा एमालेका मिन बहादुर शाही, नेकपाका पर्शुराम तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल तथा जनमत पार्टीका ई. ह्रदेन्द्र चौधरी सहभागी थिए ।

कार्यक्रममा राजनीतिक दल तथा उम्मेदवारका घोषणापत्रमा समावेश भइरहेका तथा आगामी दिनमा समेटिनुपर्ने डिजिटल एजेन्डामाथि केन्द्रित छलफल गरिएको थियो । प्यानल संवादको सहजीकरण आईसीटी विज्ञ हेमपाल श्रेष्ठ तथा फोकस ग्रूप डिस्कसनको सहजीकरण शुन्यएकका संस्थापक सञ्जय पौडेल र आईटी उद्यमी रेशम भण्डारीले गरेका थिए ।