नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रियाबाट कोही पनि वञ्चित हुनुपर्दैनः डा. दीक्षा जोशी (अन्तर्वार्ता)


काठमाण्डु – मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो मुटु । जसले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । यो शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ । मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई ‘पेरिकार्डिम’ भनिन्छ ।

सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ । एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ । मुटुमा चारवटा भाग हुन्छन्,जसमा दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल हुन्छन । गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ । जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ ।

नेपालमा पछिल्लो समय मुटुरोगीको संख्या दिनानुदिन बढिरहेको छ । बदलिँदो समय र खानपानलगायतका कारणले मुटुरोगीको संख्या नगन्यमात्रामा बढिरहेको पाइएको छ । यो रोग सबै उमेर समूहका मानिसहरुमा लाग्ने गर्दछ ।

नेपालको पहिलो महिला कार्डियाक सर्जन डा. दीक्षा जोशी पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगहरु बढ्दै गइरहेको बताउँछिन् ।

उनकाअनुसार पछिल्लो समय देखिएको धेरै मुटु रोग जीवनशैलीमा आधारित छ । अव्यवस्थित जिवशैलीका कारण युवाहरु पनि मुटुरोगको शिकार बन्दै गइरहेको डा. जोशीको भनाई छ । नेपालमा मुटुरोगीको अवस्था, उपचार र रोकथामका उपायलगायतका विषयमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत डा. जोशीसँग काठमाण्डुपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको संम्पादित अंशः

मुटु सम्बन्धी रोग भनेको के हो ?

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धड्किरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ । मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ । तर मुटुमा लाग्ने विभिन्न किसिमका रोगलाई हामी मुटुरोग भन्छौं । पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगहरु बढ्दै गइरहेको पाइन्छ ।

पछिल्लो समय देखिने धेरै मुटु रोग भने जीवनशैलीमा आधारित मुटु रोग हुन् । यसले गर्दा पछिल्लो समय मानिसहरू युवा अवस्थामा नै मुटु रोगको शिकार बनेका छन् ।

यसका अलावा मानिसलाई जन्मजात मुटु रोग पनि हुन सक्छ । कुनै केटाकेटीलाई जन्मजात मुटु रोग लागेको हुन सक्छ । जस्तै गर्भाधारण गरेको तीन महिनाभित्र आमालाई रुबेला नामक दादुरा जस्तै प्रकृति भएको रोग लाग्यो भने बच्चा मुटु रोग भएर जन्मिने गर्छ ।

यस्तै, अर्को प्रकारको मुटु रोग भनेको बाथ मुटु रोग हो । मुटु बाथ रोग खास गरेर इन्फेक्सन अर्थात् संक्रमणको कारणले हुने गर्छ । यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका मानिसहरूलाई पछि गएर युवा अवस्थामा देखिने मुटु रोग हो । अर्को प्रकारको मुटु रोग भनेको हृदयाघात हो, जुन मानिसको जीवनशैली र खानपानले हुने गर्छ ।

पछिल्लो समय मानिसको मुत्युको प्रमुख कारण मानिएको हृदयाघात हुँदा मुटु मांसपेसीको डल्लो हुन्छ । यसले गर्दा शरीरभर रक्त सञ्चालन हुन सक्दैन । रक्तनली विभिन्न कारणबाट कोलेस्ट्रोल जमेर साँगुरो हुने गर्छ । यसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ त्यसकारण मुटुका मांसपेसीहरूमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।

विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पुरै बन्द हुन्छ र मुटुलाई सञ्चालन गर्ने आवश्यक तत्त्वहरू आउने बाटो ठप्प हुने यो अवस्थालाई हामी हृदयाघात भन्छौं ।

मुटुरोग लाग्नुका कारणहरु के-के हुन सक्छन् ?

पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्ट्रोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजभोली मानिसहरुको जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुरोग । आधुनिक जीवनशैली, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी आदि मुटुरोग बढ्नुका कारणहरु हुन् । मुटुरोग बच्चादेखि नै लाग्ने गर्छ ।

मुटुरोग लाग्ने कारक तत्वहरु
– उच्च रक्तचाप,
– अत्याधिक मध्यपान वा धुम्रपान,
– मोटोपना,
– खानेकुरामा परिवर्तन,
– रगतमा कोलेस्ट्रोल वा चिलो पदार्थ बढ्नु,
– व्यायाम नगर्नु,
– फलफूल नखानु,
– चिल्लो, तारेको खाना वा जंकफुडको अत्याधिक प्रयोग,
– वशांणुगत गुण । (वशांणुगत मुटुरोग बाहेक अरु तत्वले लाग्ने मुटुरोगलाई भने हामीले रोक्न सक्छौं ।)

मुटुरोग लागेपछि देखिने लक्षण र रोकथामका उपायहरु केके हुन् ?

जनरल मुटुरोगको कुरा गर्नुपर्दा छाती दुख्ने, खुट्टाहरू सुन्निने, कफमा रगत देखिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, बेहोश हुने, अत्याधिक चिन्ता, थकाइ लाग्नेलगायत लक्षण देखिन सक्छन् । महिला र पुरुषमा छुट्टाछुट्टै लक्षण देखिने हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ । तर, यस्ता लक्षण देखिनेबित्तिकै मुटुरोग नै भन्न सकिँदैन । हामीलाई मुटुरोग लागे–नलागेको कसरी पत्ता लगाउने भन्ने कतिलाई थाहा नहुन पनि सक्छ । विभिन्न चेकजाँच (सुगर, ब्लड प्रेसर) गरेर हामीले मुटुरोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ ।

मुटुरोगबाट बच्ने उपाय
– स्वस्थ भोजन,
– अनावश्यक तनाव नलिने,
– समयमै सुत्ने,
– प्रशस्त फलफूल,
– हरियो सागसब्जी प्रशस्त खाने,
– चिनी, नुन र चिल्लो एकदम कम खाने,
– नियमित शारीरिक व्यायाम गर्ने,
– धुमपान र मध्यपान नगर्ने, आदि ।

कस्तो अवस्थामा मुटुको शल्यक्रिया गरिन्छ ?

मुटुरोगको प्रकारअनुसार कहिले शल्यक्रिया गर्ने भन्नेमा निर्भर हुन्छ । साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्दा राम्रो हुन्छ । तर, असाइनोटिक हार्ट डिजिजमा फोक्सोको प्रेसर र मुटुको खुम्चने शक्ति ठीक छ भने केही समय कुर्न सकिन्छ । असाइनोटिक हार्ट डिजिजमा जन्मेको २ वर्षभित्र मुटुको बनावट ठीक हुने तथा मुटुको प्वाल आफैं टालिने हुँदा पर्खिन सकिन्छ । तर २ वर्षपछि भने तुरुन्त यसको पनि शल्यक्रिया गर्नुपर्छ । त्यस्तै मुटुको बाथ रोगमा भल्भ, मुटुको खुम्चने शक्ति, फोक्सोको प्रेसर हेरेर त्यसअनुसार शल्यक्रिया गर्नुपर्छ । कोरोनरी हार्ट डिजिजमा तीन तहमा उपचार गरिन्छ ।

शुरूमा मुटुमा ५० प्रतिशतभन्दा कम अवरोध छ भने औषधि उपचार गरिन्छ । अवरोध ५० प्रतिशतभन्दा बढी र दुई धमनीमा सीमित छ भने एन्जियाप्लास्टी वा स्टेन्टको सहायताले धमनी खोल्ने प्रयास गरिन्छ । तर, रोग तीन वा तीनभन्दा बढी धमनीमा फैलिएको छ तथा रक्तसञ्चार हुने मुख्य धमनीमा रोग फैलिएको, मुटुको खुम्चने शक्ति कम भएको र मधुमेह, उच्च रक्तचाप लगायत अन्य रोग भएको अवस्थामा बाइपास शल्यक्रिया गरिन्छ ।

मुटुको शल्यक्रियाको क्रममा के कस्तो जोखिम आउन सक्छ ?

मुटुको शल्यक्रिया भनेको ओपन हार्ट सर्जरी हो । ओपन हार्ट सर्जरी गर्दा हामीले बिरामीलाई बेहोस बनाउँछौं, त्यसपछि मुटुलाई बन्द गर्छौं । मुटु बन्द गर्दा मान्छे कसरी बाँच्छ भन्ने सवाल पनि आउन सक्छ । उक्त शल्यक्रिया गर्दा हार्ट लङ मेशिनको प्रयोग गरिन्छ । मुटु पूर्ण बन्द हुँदा पनि मुटु र फोक्सोले गर्ने सम्पूर्ण काम उक्त मेशिनले गर्दछ । यही बेला मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने, बाइपास शल्यक्रिया गर्ने लगायत काम हुन्छन् । त्यसपछि मुटुलाई चालमा ल्याएर मेशिन बन्द गरिन्छ ।

संसारमै सबैभन्दा गाह्रो शल्यक्रियाको रूपमा मुटुको शल्यक्रिया रहेको छ । यसरी मुटु बन्द गरेर मेशिनद्वारा मुटु र फोक्सोले गर्ने काम गराइने हुँदा ओपन हार्ट शल्यक्रियामा जोखिम त हुने नै भयो । तर, उमेर ७० वर्ष पुगेको, तुरुन्त हार्टअट्याक भएको अवस्थामा शल्यक्रिया गर्नुपरेको खण्डमा १ देखि ३० प्रतिशतसम्म खतरा हुन्छ । तर चिकित्सकले धेरै होशियारी पूर्वक शल्यक्रिया गरी विरामीलाई ठीक पार्ने काम गरिन्छ । यो दौरान रगत धेरै बग्ने, घाउ पाक्ने, प्यारालाइसिस हुने, मिर्गौलामा समस्या देखिन सक्ने, मुटुको चाल बिग्रिएर पेसमेकर राख्नुपर्ने र ज्यानै जान सक्ने सम्भावना पनि हुन सक्छ ।

बिरामीलाई रिकभर हुनका लागि कति समय लाग्छ ?

बिरामीलाई रिकभर हुनका लागि उसको शल्यक्रिया गर्दाको अवस्थामा भर पर्छ । केही जटिलता नभएको अवस्थामा सामान्यतया छिट्टै रिकभरी हुन्छ । शल्यक्रिया गरेका बिरामीलाई २–३ दिनमा उठ्ने, हिँड्ने, छातीको कसरत गराउने काम गरिन्छ । बिरामी पुराना क्रियाकलापमा जति छिटो अभ्यस्त हुन्छ, त्यति छिटो रिकभरी हुन्छ । अन्य रोगमा जस्तो आराम गर्नुपर्ने यसमा हुँदैन । तर भारी सामान उठाउने लगायत काम गर्नुहुँदैन । यस्तो क्रियाकलापले शल्यक्रिया गरिएको ठाउँमा असर पार्ने गर्छ । सामान्यतया यस्ता क्रियाकलाप ३ महीनापछि मात्र गर्नुपर्छ ।

नेपालमा सबैभन्दा बढी अप्रेशन हुने मुटुरोग कुन हो ?

पछिल्लो समयमा नेपालमा बढी मुटु बाथरोगको शल्यक्रिया गरिन्छ । यसमा सबैभन्दा बढी मुटुको भल्भ मर्मत गर्ने र फेर्ने काम गरिन्छ । मुटुको बाथरोग विकट क्षेत्रहरूमा बढी देखिएको छ । डाक्टरको अभाव र सही समयमा सही उपचारको अभावले त्यस्ता ठाउँका मानिसमा यो रोग बढी पाइन्छ ।

नेपालमा शल्यक्रिया कतिको महंगो छ ? सरकारले मुटुरोग उपचारको लागि न्यून वर्ग (जो महंगो पैसा तिरेर उपचार गर्न सक्दैनन्) का लागि के कस्तो सुविधा दिँदै आइरहेको छ ?

मुटुको शल्यक्रिया संसारमै सबैभन्दा महँगो शल्यक्रिया हो । यो रोग भनेको जीवनभर औषधि खानुपर्ने रोग हो र यसको औषधि निकै महँगो छ । तर नेपालमा भने सरकारले मुटुरोगीका लागि विशेष व्यवस्था गरेको छ । यस कारण नेपाल मुटुको शल्यक्रिया सबैभन्दा सस्तो र सजिलो हुने देशमध्ये पर्छ । नेपाल सरकारले बाथरोग लागेका व्यक्तिको मुटुको भल्ब प्रत्यारोपण, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया पूर्ण निःशुल्क गर्ने व्यवस्था गरेको छ । यसबाहेक मुटुको अन्य शल्यक्रिया (कोरोनरी आर्टरी र बाइपास अप्रेशन)का लागि नेपाल सरकारले विपन्न वर्गलाई १ लाख अनुदान प्रदान गर्दै आएको छ । त्यसैले नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रिया नहुने अवस्थाबाट कोही पनि वञ्चित हुनुपर्दैन ।

मुटुको शल्यक्रिया गरेका बिरामीले के खाने के नखाने ?

कुन शल्यक्रिया गरिएको हो त्यसमा भर पर्छ । विशेषगरी शल्यक्रिया गरेको व्यक्तिले धुम्रपान र मध्यपानबाट टाढा रहने, धेरै चिल्लो खानेकुरा नखाने, खानामा नुनको प्रयोग कम गर्ने,नरिवल, काजु, बदाम, ओखर जस्ता तेलिय फल अत्यधिक मात्रमा खानु हुँदैन ।

त्यस्तै मुटुरोगीले कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुरा खाने गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ ।

चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।

नेपालमा मुटुरोगीको अवस्था कस्तो छ ?

विदेशमा विशेषगरी हुने रोग कोरोनरी आर्टरी रोग हो । यो रोग बुढापाकामा बढी लाग्छ । विदेशी खाना, अनहेल्दी लाइफस्टाइलका कारण यो रोग विदेशमा बढी लाग्ने गर्छ । तर, नेपालमा पनि यो रोग बढ्दै गइरहेको छ । बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो । पछिल्लो समय जसरी मानिसको जीवनशैली र खानपान बढेको छ, यसले मानिसलाई मोटोपनादेखि उच्चरक्तचाप बढाइरहेको छ । यो नै मुटुरोग बढ्नुको मुख्य कारण हो ।

नेपालमा यो बाहेक सबैभन्दा बढी बाथ मुटु रोगी रहेका छन् । विश्वव्यापी रूपमा झन्डै उन्मूलन भइसकेको यो रोग हाम्रो जस्तो देशमा चाहिँ अझै बढ्दो क्रममा छ । गंगालालमा सबैभन्दा बढी शल्यक्रिया गरिने मुटुरोग मध्ये पहिलो बाथरोग पर्छ ।

पछिल्लो समय मुटुरोगी बढ्ने क्रम जारी छ । तर, आवश्यक चिकित्सक छैनन्, उपचार केन्द्र कम छ । यसका लागि सरकारले कस्तो कदम चाल्नुपर्ला ?

जसरी मुटुको रोग बढ्दै गएको छ, त्यसअनुसार पक्कैपनि उपचार गर्ने विशेषज्ञ चिकित्सहरूको कमी देखिन्छ । अहिले सेन्ट्रलाइजेसन छ । मुटुरोगको उपचार गनुपर्यो भने जहाँबाट भएपनि काठमाण्डु आउनुपर्ने बाध्यता छ । प्रत्येक जिल्लामा निदानात्मक केन्द्र खोल्न सकियो भने राम्रो हुन्छ । बाहिर जाने चिकित्सहरुका लागि सरकारका तर्फबाट प्रोत्साहन गर्नुपर्छ । अहिले सेवा दिइरहेको अस्पतालहरुलाई अझ बढी प्रोत्साहन गर्नुपर्छ जस्तो लाग्छ ।

चिसो महिनामा किन बढ्छन् मुटुरोगी ?

चिसो महिनामा हाम्रो मुटु अन्य समयभन्दा बढी सक्रिय हुन्छ । जाडोको कारण मुटुले रेष्ट गर्ने समयमा पनि काम गर्नुपर्ने हुन्छ । अलि बढी ब्यायाम गरियो भने जोखिम देखा पर्न सक्छ । हृदयघातका बिरामी, मुटुमा ब्लकेज भएर उपचार नगरेको, मुटुको भल्व, मुटुको चाल अर्थात मुटु सम्बन्धी बिरामी भनेर थाहा भइसकेका बिरामीहरुले विशेष सावधानी लिन जरुरी हुन्छ । किनभने जाडोले मुटुलाई विशेष जोखिममा राखेको हुन्छ ।

चिसोमा अल्कोहलको सेवनले हृदयघातको खतरा बढाउन सक्छ । किनभने यसले बाहिर गर्मी महसुस गराउँछ तर भित्री अंगहरुमा चिसो हुन्छ । जसले हृदयघातको खतरा बढ्छ । मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन् । यसको असर मुटुमा रगतको आपूर्ती गर्ने धमनीहरुमा पनि पर्छ । त्यसैले मुटुरोगीहरुलाई हृदयघातको खतरा बढ्ने गरेको हो ।

चिसो मौसममा शरीरमा भिटामिन डीको कमी, कोलस्ट्रोल स्तर बढ्ने, रगतको आपूर्ति, रक्तसञ्चारमा गडबडी, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिम उच्च बनाउँछ ।

कस्तो उमेर समूहका व्यक्तिलाई यो रोग बढी लाग्छ ? महिला र पुरुषको तुलनामा को बढी प्रभावित हुन्छन् ?

जति उमेर ढल्किँदै गयो त्यति नै मुटु रोग बढी लाग्छ । महिला र पुरुषको तुलनामा पुरुषलाई बढी लाग्ने गर्छ । यसमा हर्मोनको कुरा आउँछ । महिनावारी गराउने एस्ट्रोजन प्रोष्टोज हर्मोनले महिलामा सुगर, प्रेसर र कोलेस्ट्रोरोललाई कन्ट्रोल गर्ने हुँदा महिलालाई मुटु रोग लाग्ने जोखिम पुरुषको तुलनामा कम हुन्छ । तर महिनावारी रोकिएका महिलाहरुमा भने हृदयघात हुने जोखिम पुरुष सरहनै हुन्छ ।

उपचारको क्रममा विकृति पनि भित्रिएको छ भन्ने सुन्नमा पाइन्छ, यसमा तपाई के भन्नुहुन्छ ?

हामीले अन्य रोगको बिरामीको तुलनामा यसमा सिरियस इन्भेष्टिकेसन गर्छौं । सुरुमा बिरामीलाई ओपिडिमा हेरिन्छ । त्यसपछि अपे्रशन गर्नुपर्ने या नपर्ने भन्ने हामीले टीमवर्कमा रहेर निर्णय गर्छौं । यो एकजना चिकित्सकले मात्र निर्णय लिने कुरा होइन । डिसाइट गर्नेवितिक्कै हामीले अप्रेशन पनि गर्दैनौं । मुटुको अप्रेशन एकदमै क्रिटिकल मुरा हो । अप्रशेन गर्नुअघि पनि हामीले धेरै चेकअप गराउँछौ । लगभग ३, ४ वटा स्टेप पुरा गरेपछि मात्रै आवश्यक भएमा हामीले मुटुको शल्यक्रिया गर्छौं ।

गंगालालमा उपचारका लागि दैनिक कति मुटुरोगी आउँछन् ?

मुटु रोगको उपचार हुने शहीद गंगालाल हृदय रोग उपचार केन्द्रमा उपचार गर्न आउने बिरामीको संख्या हेर्ने हो भने पनि पछिल्लो समय मुटु रोगका बिरामी बढ्दै गएको देखिन्छ । यसअघि केही महिना कोरोना महामारीको बेला अस्पताल आउने बिरामी घटेका थिए । अहिले दैनिक ५ सय जना बिरामी आउँछन् । गंगालालमा दैनिक ६ देखि ७ वटा मुटुको शल्यक्रिया गरिन्छ ।

हरेक फिल्डमा काम गर्न गाह्रो हुन्छ तर तपाईको फिल्डमा एकदमै बढी जोखिम हुन्छ । यस्तो अवस्थामा कहिल्यै जागिर छोडौं जस्तो महशुस भएन ?

गाह्रो त अवश्य नै हुन्छ । परिवारको साथ नभएको भए सायद म यहाँ हुन्न थिएँ होला । पहिला छोरी सानी हुदाँ निकै अफ्ट्यारो थियो । बच्चा छोडेर आउन निकै गाह्रो हुन्थ्यो । अझ मलाई त्यो भन्दा बढी गाह्रो गर्भवती भएको बेला भएको थियो । त्यो बेला मैले रिजाइनेसन लेटर सिरानीमुनि लेखेर राख्थेँ । आज भन्दा भोलि गाह्रो दिन आयो भने भोलि रिजाइन दिन्छु भनेर सोच्थेँ । तर अहिलेसम्म दिनुपरेन । हरेक फिल्डमा गाह्रो छ । तर धैर्य गर्नुपर्ने रहेछ । यसरी काम गर्दा समय वितेको पनि पत्तै पाइँन । यसैमा रमाइरहेकी छु । अहिले गर्व महसुस हुन्छ । ती अफ्ठ्यारा दिनहरु समझिँदा ।

प्रतिक्रिया दिनुहोस
Advertisement