काठमाण्डु – नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले नेपाली कांग्रेसले जनताको भावना बुझ्न नसक्दा र सत्ताको वरिपरि मात्रै केन्द्रित हुँदा फागुन २१ गते सम्पन्न चुनावको परिणाम प्रतिकूल आएको स्वीकार गरेकी छन् ।
११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिले आईतबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस अब ‘रचनात्मक प्रतिपक्ष’ बनेर सडकबाटै जनताको आवाज बुलन्द गर्ने बताइन् ।
मुलुकको हालैको राजनीतिक घटनाक्रम र चुनावी परिणामको समीक्षा गर्दै सहमहामन्त्री संग्रौलाले भनिन्, ‘हामीले बदल्यौं कांग्रेस, अब बदल्छौँ देश भन्यौँ, तर जनताले हाम्रो कुरा सुन्नै चाहेनन् । सत्तामा रहँदा सुशासन दिन नसक्नु र भ्रष्टाचारका मुद्दाहरूमा मौन बस्नु नै कांग्रेसको कमजोरी सावित भयो ।’
उनले जनताले पुराना दलहरूप्रति ‘साइलेन्ट विद्रोह’ गरेको र त्यसैको परिणामस्वरूप नयाँ शक्तिहरूको उदय भएको बताइन् ।
संसदीय व्यवस्थामा संसद्भित्रको संख्याले मात्र अर्थ नराख्ने बताउँदै उनले भनिन्, ‘कांग्रेस संसद्मा सानो आकारमा रहँदैमा कमजोर भएको छैन । सडकको आवाजले मात्रै संसद हल्लिन्छ र संसदीय सर्वोच्चता कायम हुन्छ । मजदुर र महिलाका हक अधिकारका लागि अब हामी सडकबाटै सशक्त दबाब दिनेछौँ ।’
नेपालको महिला आन्दोलनको इतिहास स्मरण गर्दै डा. संग्रौलाले मंगलादेवी सिंह र योगमाया न्यौपाने जस्ता योद्धाका कारण आज महिलाहरूले भोट हाल्ने अधिकार पाएको उल्लेख गरिन् ।
यद्यपि संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत अधिकार र समान कामका लागि समान ज्यालाको प्रावधान अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।
‘नेपाली कांग्रेसले नै द्वारिकादेवी ठकुरानीलाई पहिलो महिला मन्त्री बनाएर महिला अधिकारको ढोका खोलेको हो तर आज टिकट वितरण र निर्णायक तहमा महिलालाई सहभागी गराउन हामी चुकिरहेका छौँ,’ उनले भनिन्, ‘अब ३३ प्रतिशत होइन, राज्यका हरेक निकायमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो एजेन्डा हो ।’
नेपाल ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेस एकै सिक्काका २ पाटा भएको चर्चा गर्दै उनले मजदुरका मुद्दाहरूलाई पार्टीले उचित प्राथमिकता दिन नसकेकोमा आत्मालोचना समेत गरिन् । मजदुरहरूको हकहित र श्रमको उचित मूल्यांकनका लागि पार्टीले अब नयाँ ढंगले नीति बनाउने उनको प्रतिबद्धता थियो ।




प्रतिक्रिया