काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिसभामा वैदेशिक रोजगारसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसद डा. डिला संग्रौलाले मंगलबार प्रतिनिधिसभामा वैदेशिक रोजगारसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी हुन् ।
उनले सांसदहरू संजयकुमार गौतम र रामचबहादुर विष्टको समर्थनमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको बताइन् ।
विगत एक दशकभित्र वैदेशिक रोजगारमा भएका ७ हजार ३९० जना नेपाली युवाको विदेशमा मृत्यु भइसकेको स्मरण गराउँदै सांसद संग्रौलाले विदेशमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनीकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका सम्बन्धमा संसदलाई जानकारी दिइनुपर्ने बताएकी छिन् । औषतमा हेर्दा प्रतिवर्ष ७३९ जनाको मृत्यु भएको देखिन्छ ।
‘वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनोट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको छ । अर्कोतर्फ, अवैध बाटो हुँदै विदेश यात्रामा जानेहरूको ताँतीले थप समस्या निम्ताएको छ,’ संसदमा दर्ता गरिएको प्रस्तावमा भनिएको छ, ‘वैदेशिक रोजगारी मुलुकको समृद्धिका लागि सर्वकालीन विकल्प कदापि हुन सक्दैन । बरु मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ नेपाल सरकार लाग्नुपर्छ । तसर्थ सम्मानित सदनमा यो प्रस्तावमाथि छलफल गर्नु आवश्यक छ ।’
वैदेशिक रोजगारीमा जाँदा समस्या परेका युवालाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन समाधान खोज्न छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
जुन देशमा सबैभन्दा बढी जनसंख्या युवाहरूको हुन्छ, त्यो देश नै समृद्धिको शिखर यात्रामा अघि बढ्छ । राष्ट्र निर्माणको अगुवाई देशका युवाहरूबाटै हुनुपर्दछ । तर, नेपालको दृष्टान्त बिल्कुल फरक छ । ४० लाखको संख्यामा नेपाली युवाहरू रोजगारीका लागि विदेशका शहरहरूमा पुगेका छन् । आफ्नो घरको गर्जो टार्न विदेश हिँडेका कयौं नेपालीहरू फेरि घर फर्किन नपाई आफ्नो जीवन त्याग्न बाध्य हुनुपर्ने अवस्थामा पुग्ने गरेको यथार्थ हाम्रा सामू छ । विगत एक दशक भित्र सात हजार ३ सय ९० जना नेपाली युवाले आफ्नो प्राण विदेशमा त्याग्नु परेको सत्यसँग हामी सबै परिचित छौँ ।
अपितु, विदेशमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनिकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका सम्बन्धमा सम्मानित सदनमा जानकारी दिइनुपर्ने आवश्यकता मैले महसुस गरेकी छु । वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको छ । अर्कोतर्फ, अवैध बाटो हुँदै विदेश यात्रामा जानेहरूको ताँतीले थप समस्या निम्ताएको छ । वैदेशिक रोजगारी मुलुकको समृद्धिका लागि सर्वकालीन विकल्प कदापि हुन सक्दैन । बरु मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ नेपाल सरकार लाग्नुपदर्छ । तसर्थ सम्मानित सदनमा यो प्रस्तावमाथि छलफल गर्नु आवश्यक छ ।
छलफल गर्नु पर्नाको कारणः
१. वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन ।
२. सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न ।
३. रोजगारीका लागि गएकामध्ये दुई दर्जनभन्दा धेरै युवाहरू अहिले विभिन्न देशस्थित अस्पतालमा कोमामा वर्षौंदेखि रहेका छन् । उनीहरूको उचित उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्न ।
४. नेपाल सरकारले हालै मात्र वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार शून्य लागतमा नेपाली कामदारलाई मलेशिया पठाउन सरकारले नै मलेशियाली कम्पनीहरूसँग सिधा सम्वादमार्फत रोजगारी सुनिश्चित गर्न ।
सम्बन्धित मन्त्रालय: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।
प्रस्तावक
हस्ताक्षरः
नाम, थरः डा. डिला संग्रौला (पंत)
क्रम संख्याः ७२
समर्थक
१. हस्ताक्षरः
नाम, थरः सञ्जय कुमार गौतम
क्रम संख्याः २६५
२. हस्ताक्षरः
नाम, थरः राम बहादुर बिष्ट
क्रम संख्याः १९५
मिति स् २०७६।१०।२०




प्रतिक्रिया