चीनका नेपाली उद्धारको याचना गरिरहेका छन्, प्रधानमन्त्री बाँसुरी बजाएर बस्छन्ः सांसद संग्रौला

चीनका नेपाली उद्धारको याचना गरिरहेका छन्, प्रधानमन्त्री बाँसुरी बजाएर बस्छन्ः सांसद संग्रौला


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा् डिला संसग्रौला पन्तले सरकारले चीनमा कोरोना भाइरसबाट आत्तिएर बसेका नेपालीहरुको उद्धारमा चासो नदेखाएको बताएकी छन् । उनले चीनमा रहेका नेपाली उद्धारको याचना गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने बाँसुरी बजाएर बसेको बताइन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीको यस्तो प्रवृति निरोसँग मिल्दोजुल्दो रहेको बताइन् ।

‘नेपालभन्दा तल रोमतिर जाउँ । शाहक थिए निरो । निरोको अरु अपराध जस्तै खासै चर्चा छैन् । तर, सन् ६४ माआधिम सभ्यता बोकेको रोममा ६ दिनसम्म भीषण आगलागी भयो । त्यो आगलागीमा रोम जलिरह्यो । निरोले बाँसुरी बजाइरहे भनेर अथ्र्याइएको छ’, उनले उदाहरण दिँदै भनिन्, ‘यस्तै माघ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बालुवाटारमा आयोजना गर्नुभएको सारङ्गी साँझको तस्बीरले ज्यादै द्रवित बनायो । कल्पना गरौं यदी निरोको तस्बीर भइदिएको भए त्यो तस्बीरसँग यो तस्बीर उस्तै देखिन्थ्यो होला तर, निरोको प्रवृतिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ । चीनमा रहेका नेपालीहरु सरकारसँग उद्धारको याचना गरिरहेका छन् ।’

उनले ललिता निवासको जग्गा भ्रष्टारचारमा आफ्नालाई उन्मुक्ति दिने फरक विचार बोक्नेलाई जेल पठाउने तयारी गरेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सांसद विजय गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा दोषी ठहर गरेको छ ।

उनले महंगी आकाशिएको भन्दै नागरिकको दैनिकी अस्तव्यस्त रहेको बताइन् । ‘तर, प्रधानमन्त्रीज्यू मुरलीको धुनमा हुनुहुन्छ’, उनले भनिन्, ‘म सोच्ने गर्छु चीनमा अलपत्र, दुरदराज नागरिकले प्रधानमन्त्रीको संगितमय नयाँ अवतार कसरी हेरे होलान ? उनीहरुलाई कति लाज लाग्यो होला ?’

उनले नेपाल ट्रष्ट ऐन परिवर्तन गरेर यति समूहलाई दिएको भन्दै आपत्ति जनाएकी छन् । उनले यतिलाई राज्यको सम्पति जिम्मा लगाउनुले सरकार नीतिगत भ्रष्टाचारलाई दिएको आरोप लगाइन् ।

उनले भनिन्, ‘नेपाल ट्रष्ट ऐनले भाडामा लगाएको ३ हजार रोपनी जग्गा मध्ये गोकर्ण, ताहाचल, दरबारमार्गको २ हजार ७ सय ४९ रोपनी जग्गा यति समूहलाई दिइएको छ । ५ अर्ब नोक्सानी हुनेगरी दरबारमार्गको जग्गा यति समूहलाई किन दिइयो ?

त्यस्तै उनले पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तैमा दिइनु, धरानमा विमानस्थल बनाउन भनेर यति समूहले प्रतिकठ्ठा २८ हजार रुपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाका दरले बेच्न लागेको भन्दै आपत्ति जनाइन् ।

उनले शिवपुरी राष्ट्रिय निकुञ्जको २१६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइयो ? भन्दै प्रश्न गरेकी छन् । ‘यतिसँग सति जानु सरकारको के कारण हो ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘सरकारले एउटा व्यापारी समूहलाई राज्यको सबै सम्पति जिम्मा लगाउनुको तात्पर्य के हो ?’

उनले पाँच वर्ष अघि न्यारोवडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घुस लिएको वास्तविकताबारे जवाफ दिन सरकारसँग माग गरेकी छन् ।