काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आफूलाई बौद्धिक सरकार भन्न रुचाउने नेकपा सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिक्त रहेका ६ वटा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न आग्रह गरेकी छन् ।
‘दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन् । विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ’, उनले भनिन्, ‘६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन् । विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छायाँ छ । भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।’
उनले नेकपाको सरकारलाई स्टेफन हकिङको भनाइ उल्लेख गर्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्री गिरीराजमणी पोखरेलको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक रहेको बताइन् ।
उनले लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार प्रधानमन्त्री र मन्त्री कसैलाई पनि नभएको बताइन् ।
‘लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस् । सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन् ।




प्रतिक्रिया