काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले एकल महिला र अपांग भएका व्यक्तिहरुको भत्ता काट्ने निर्णयबारे आपत्ति जनाएकी छन्
प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले लकडाउनले मारमा परेका न्यून आए भएका श्रमिक, अशक्त र एकल महिलालाई राहतका प्याकेज घोषणा गर्नुपर्ने बेलामा सरकारले भत्ता काटेर अपमान गरेको बताएकी छन् ।
‘सिङ्गै मुलुक गएको झन्डै २ महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु’, उनले भनिन्, ‘रोजगार गुमाएका मजदूर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाइ दिदी बहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने हामीले माग गर्दै आएकोमा सरकारको यो कदमको हामी निन्दा गर्दछौं ।’
सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिइँदै आएको उक्त भत्ता रोक्न दिएको थियो ।
उनले सरकारलाई उक्त कदम फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन माग गरेकी छन् ।




प्रतिक्रिया