काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले सरकारले उखु किसानका समस्यालाई वेवास्था गरेको आरोप लगाएकी छन् ।
चिनी उद्योगीले उखु किसानको भुक्तानी नदिएको भन्दै काठमाडौंमा आन्दोलनरत किसानका सस्यालाई समाधान नगरेको उनको आरोप छ ।
‘काठमाडौंमा उखु किसान आन्दोलनरत छन् । उनीहरुका समस्या समाधान गर्न सरकारले उदासिनता देखायो । किसानका समस्या समाधान गरेर उनीहरुको भुक्तानी नदिने उद्योगीमाथि कडा कारबाही हुनुपर्छ,’ सांसद संग्रौलाले भनिन् ।
साथै उनले समयअनुसार किसानले उखुको मूल्य नपाएको भन्दै मूल्य बढाउन माग गरेकी छन् । सांसद संग्रौलाले आफूलाई मजदुर र सर्वहारा वर्गको सरकार भने पनि किसानको समस्यामा साथ नदिएको उनले आरोप लगाइन् ।
सांसद संग्रौलाले सरकार उल्टो गतिमा हिँड्न थालेकोे आरोप लगाइन । लामो समयदेखि सभामुखको टुंगो लगाउन नसकेको भन्दै उनले संसद बैठक स्थगित गरेर सरकारले जनताका आवाज बन्द गर्ने काम गरेको प्रतिक्रिया दिइन् ।
‘एउटै पार्टी भएर पनि एमाले र माओवादी भन्दै सभामुखमा हानाथाप गरेका छन् । सभामुखको विषय टुंगो नलाग्दा जनताको आवाज उठाउने थलो संसद बैठक स्थगित भइरहेको छ । सभामुखको विषयलाई चाँडै टुंगोमा पुर्याएर संसद खुलाउनुपर्छ, ’ सरकारप्रति आक्रामक हुँदै उनले भनिन् ।




प्रतिक्रिया