काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रदेश १ राजधानी विराटनगरको संक्रमण रोक्नका लागि तीनै तहका सरकारले समन्वय गर्नुपर्ने माग गरेकी छन् ।
विराटनगरमा कोरोना भाइरसको त्रास बढेकाले प्रदेश र केन्द्र सरकारले समन्वय नगरेको भन्दै समुदाय स्तरसम्म फैलिने क्रममा रहेकाले संक्रमितलाई उपचारको लागि भर्ना गरिने आइसोलेसन वार्ड बढाउन माग गरेकी छन् ।
‘कोरोनाको प्रभावकारी नियन्त्रण र रोकथाम का लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता पर्छ । मुख्यमन्त्री कोरोना नियन्त्रणको रणनीति बनाउनुको साटो धेरै समय काठमाण्डुमा संघीय सरकारसँगको साँठगाँठमा रहने र स्थानीय सरकार एक्लै दौडिनु पर्ने कुराले अफ्ठ्यारो परेका बेला सरकार जनताको अभिभावक हुनुपर्छ’, उनले भनेकी छन्, ‘अफ्ठ्यारो परेको बेला सरकार जनताको अभिवाक हो । त्यसैले प्रदेश सरकार सचेत र चनाखो भई बिरामीलाई राख्ने र औषधि उपचारको राम्रो ब्यस्थापन गर्दै सुरक्षित बातावरणको सिर्जना गर्नु पर्छ ।’
त्यस्तै उनले नगरबासीले पनि उच्चमनोवलका साथ सहयोग गर्नुपर्न बताएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले सबैले सुरक्षित रुपमा घरमा बसे कोरोना संक्रमण नियन्त्रण हुने बताइन् ।
‘स्थानिय सरकार र प्रदेश १ सरकारले कोरोनाको परीक्षणको दायरा व्यापक रुपमा बढाउनु पर्छ । समुदायमा नै गई पिसिआर परीक्षण गर्न जरुरी छ । यस तर्फ सबन्धित निकायको एवं तिनै तहको सरकारको ध्यान जाओस’, उनले भनिन् ।
त्यस्तै उनले बिज्ञहरुको सल्लाह र सुझाबलाई लिँदै तिनै तहको सरकारले आफ्नो साधन र स्रोतलाई यो अबस्थामा अधिकतम परिचालन गर्न जरुरी रहेको बताइन् ।




प्रतिक्रिया