राष्ट्रिय सभामा योग्य उमेदवारलाई जिताउनूसः डिला संग्रौला

राष्ट्रिय सभामा योग्य उमेदवारलाई जिताउनूसः डिला संग्रौला


विराटनगर – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रियसभाका उमेदवारसँग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले भनिन्, ‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बाबजुद यो क्रम रोकिएको छैन ।’

संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत् वर्ग पुग्ने ठाउँ भएकाले योग्य उमेदवारलाई जिताउन आह्वान गरिन् ।

संग्रौलाले केपी ओलीले चुनावअघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिम्पियाधुराको विवाद उठ्दा भारतले कूटनीतिक रूपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’ संग्रौलाले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिबद्धता जनाएअनुसार काम गर्नै नसकेको स्पष्ट गरे ।

कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मीना पुलामी मगर र नीरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ । पत्रकार सम्मेलनमा उमेदवार घिमिरेले आफ्नो उमेदवारी व्यावसायिक क्षेत्रको विकासका लागि पनि भएको बताए ।