काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले चिनी उद्योगका मालिकसँग सरकारको साँठगाँठ रहेको आरोप लगाएकी छन् ।
भुक्तानी नपाएको भन्दै माइतीघरमा आन्दोलनरत उखु किसानको पक्षमा बोल्दै सांसद संग्रौलाले सरकारले किसानको भुक्तानी दिन कुनै चासो नदिनुलाई उद्योगका मालिकसँग साँठगाँठ रहेको आशंका गरेकी छन् ।
‘उखु उद्योगका मालिकलाई खोइ कारबाही ? तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भनी मिल मालिकसंग साँठगाँठ त छैन ?’, उनले प्रश्न गरिन्, ‘७०/७५ बर्ष सम्मका वृद्ध उखु किसानहरुलाई यो जाडोमा कहिलेसम्म आन्दोलनमा उत्रन लगाउने ? यो त मरेकै दिन भो सरकार ! यसपाली पनि कुनै बहाना पारेर किसानलाई छक्याउने योजना छकी ?’
उनले उखु किसानहरु प्रत्येक वर्ष आफूले बिक्री गरेको उखुको मूल्य नपाउँदा माइतीघर मण्डलामा प्रदर्शन गर्न बाध्य भएको बताएकी छन् । ७ वटा चिनी उधोग किसानलाई करिब ९० करोड बक्यौता तिर्न बाँकी छ ।
‘ऋण काढेर उखु उत्पादन गर्नु अनि ऋण लिएर नै प्रदर्शनमा उत्रिन बाध्य हुनु पर्ने कस्तो बिडम्बना हो यो ? यो देशमा सरकार छ र ? प्रतिवर्ष माइतीघर मण्डलामा आउनु पर्ने बाध्यता किन शृजना गरिन्छ ?उखु किसानहरुले सरकारलाई कति बिन्ती बिसाउने हो ?’, उनले प्रश्न गरिन ।
सांसद संग्रौलाले उखु किसानको शोषणविरुद्ध सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।




प्रतिक्रिया