जनताले सरकारको दिनगन्ती सुरु गरिसकेः डिला संग्रौला

जनताले सरकारको दिनगन्ती सुरु गरिसकेः डिला संग्रौला


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कार्य अलोकतान्त्रिक तथा असंवैधानिक रहेको बताएकी छन् ।

प्रतिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले आफ्नै पार्टी भित्रको किचलो समाधान गर्न नसकेर नेपाली जनताको सार्वभौम संस्था, संसद, विघटन गर्ने सरकारको अलोकतान्त्रिक तथा असंवैधानिक कार्य भएको बताएकी हुन् ।

‘तीन वर्ष अघि जनताले दिएको अभिमतमाथि खेलवाड गर्दै झन्डै दुइ तिहाई बहुमतको कम्युनिष्ट सरकारले देशमा अस्थिरताको बीजारोपण गरेको छ । एउटा प्रजातान्त्रिक पार्टीको रुपमा जनता सामू जान हामी जहिले पनि तयार छौं’, उनले भनिन् ।

उनले भ्रस्टाचार र कुशासनमा डुबेको सरकारबाट कहिले मुक्ति पाइएला भनेर जनता दिनगन्ती गनेर बसेको बताइन् ।

‘कोरोनाको कहर खेपी रहेका जनताको पीडामा मल्हम लगाउने त कुरै छाडौं, यो सरकार भ्रस्टाचारमा लिप्त रह्यो । विदेशमा अलपत्र परेका दशौँ हजार नेपालीलाई स्वदेश फर्काउन हामीले माग गर्दा महँगो चार्टर्ड उडान चलाएर कमिशन खान व्यस्त रह्यो’, उनले भनिन् ।

त्यस्तै सांसद संग्रौलाले संसद विघटन गर्ने प्रधानमन्त्रीको एकल निर्णयमाथि सहीछाप गरेर राष्ट्रपति जस्तो संस्थाले आफ्नो अवमूल्यन गरेको बताएकी छन् ।

‘ओलीको कदमले देशको न्यायिक निकाय, सर्वोच्च अदालतलाई पनि विवादमा तान्ने निश्चित छ । त्यसैले संविधानको मर्म र भावना अनुरुप आफ्नो सार्बभौम अधिकारको रक्षागर्न र लोकतन्त्रको रक्षार्थ नेपाली जनता अब उठ्ने बेला आएकोछ’, उनले भनिन् ।