गायिका दिलमाया मृत्यु प्रकरण : बुवाले दिए सूर्यविरूद्ध जाहेरी

गायिका दिलमाया मृत्यु प्रकरण : बुवाले दिए सूर्यविरूद्ध जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु प्रकरणमा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ ।

आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतक दिलमायाका बुवाले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाण्डुमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी दिएका हुन् ।

शनिबार बिहान ११ बजे काठमाण्डुको तार्केश्वर नगरपालिका–११ स्थित आफ्नै डेरामा दिलमाया मृत फेला परेकी थिइन् । उनको फेसबुकबाट आत्महत्या गर्न लागेको भन्दै शुक्रबार नै स्टाटस लेखिएको थियो ।

उनले आत्महत्या गर्ने भनेर सामाजिक सञ्जालमा लेखेकी थिइन् तर, घाँटीमा निलडाम देखिएपछि प्रहरीले सूर्यलाई पक्राउ गरेको हो । पक्राउ परेका सूर्यले पनि प्रहरीलाई ढाँटेको पाइएपछि उनीमाथि थप शंका उत्पन्न भएको छ ।

उनीमाथि सोधपुछ गर्दा सुरूमा आफू घटना हुनुभन्दा अगाडि नै कोठाबाट निस्किएको बताए पनि पछि सिसिटिभी फुटेज हेर्दा दिलमायाले स्टाटस हालेको समयसम्म उनी त्यहीँ भएको खुलेको हो ।

घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन फेला पार्न सकेको छैन । जसकारण पनि घटना थप शंकास्पद बनेको छ ।