जनकपुरधाम – प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल कुमारी झाको राजीनामा फिर्ता भएको छ । राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा झाले आजै मन्त्रालय पुगेकी छिन् ।
प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन् । राजपाको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि उनले राजीनामा फिर्ता लिएको र मन्त्रालयमा पुगेर काम गर्न शुरु गरेको उनले बताइन् ।
उनले भनिन्, ‘आफूलाई प्रदेश सभा सदस्य र राज्यमन्त्री बनाएकाले पार्टीको आदेशलाई आफूले अस्वीकार गर्न सक्दिन ।’
राज्यमन्त्री झाको राजीनामापछि प्रदेश २ मा सरकार परिवर्तन हुने हल्ला समेत चलेको थियो । मिडियाले सरकार परिवर्तनको हल्ला चलाएको राज्यमन्त्री झाले आरोप लगाइन् ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवको भारत भ्रमण र राज्यमन्त्रीको राजीनामा फिर्तापछि अहिले सरकार परिवर्तनको सम्भावना समेत न्यून भएको विश्लेषकहरू बताउँछन् ।
राजीनामा दिनुअघि प्रदेश सरकारको कार्यक्रममा राजपाका मन्त्रीलाई महत्व नदिएको आरोप मन्त्री झाले लगाएकी थिइन् ।




प्रतिक्रिया