तत्काल सरकार परिवर्तन हुँदैन, ओलीजी नै पाँच वर्ष प्रधानमन्त्री होः दिनानाथ शर्मा


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’

नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने,‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो । कहिले हुन्छ मलाई थाहा छैन् ।’

नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वा्चित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । उनले भने,‘संविधानमा भएको व्यवस्थाबमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न गर्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, यो हामी सबैको लागि सुखद कुरा हो । उहाँको भ्रमण शानदार रुपमा सफल भएको र उपलब्धिमूलक रहेको छ।’–उनले थपे ।

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा सरकारले परिपक्व कुटनीति र व्यवहार प्रस्तुत गरेको पनि भन्दै उनले सरकारलाई बधाई दिए । उनले भने,‘सरकारले उच्चस्तरीय भ्रमणको लागि परिपक्व व्यवहार देखायो, यो खुशीको कुरा हो । यस प्रकारका उच्चस्रतीय भ्रमण गराउन नेपाल सरकार सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’

शर्माले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि सम्झिए । चीनको निःशर्त अनुदानमा नेपालमा भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएपनि पछि यसलाई बेचेको पनि उनले सुनाए । उनले भने,‘हामीले चीनको सहयोगलाई सदुपयोग गर्न सकेनौं भन्नेबारे अहिले प्रश्न उठेको छ । चीनले नेपालमा निर्वाध रुपमा लगानी गर्न चाहेको पनि उनले सुनाए ।

यद्धपी चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको उनको भनाई छ । उनले भने,‘नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले पनि यो कुरा दोहोर्याउनुभएको छ । चिनियाँ पक्ष अहिले नेपालमा नेपाल–चीन संयुक्त लगानीमा अघि बढ्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement