काठमाण्ड- केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य ६० किलो सुनबारे अनुसन्धान गर्न हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा एसएसपी आचार्य हङकङ गएका हुन् ।
सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि सीआईबीले उनलाई सूचना सङ्कलनका लागि सुन तस्करीको मुख्य बिन्दु हङ्कङ पठाएको जनाइएको छ । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
इन्टरपोल हङकङसँग सहकार्य गरेर त्यहाँबाट सुन पठाउने गिरोहको सूचना सङ्कलन गर्न आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।




प्रतिक्रिया