निर्वाचन प्रणालीलाई थप सुधार गर्न आयोग दृढ छ :प्रमुख आयुक्त थपलिया


काठमाण्डु – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ,अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका अवसरमा निर्वाचन आयोग नेपालद्वारा आयोग परिसरमा साेमबार आयोजित जलपान समारोहमा मन्तव्य दिँदै उनले निर्वाचन सम्पन्न गराउने क्रममा आयोगबाट केही नवीनतम् असल अभ्यास अवलम्बन गरिएको जनाए ।

“आयोगले यो निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा राखी राजनीतिक दल र उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसार खर्चलाई पद्धतिगत नियन्त्रण र नियमन गर्ने प्रयत्न गरेको छ ।

यी सबै अभ्यास तथा प्रयास राजनीतिक सुशासन र निर्वाचनको निष्ठा कायम गर्न चालिएका कदमहरू हुन्”, उनले भने, “आयोग कुनै पनि निर्वाचन पद, पैसा र प्रलोभनले प्रभावित हुनुहुँदैन, निष्ठा, विचार, सिद्धान्त र मूल्यमान्यताबाट निर्देशित हुनुपर्छ भन्ने आफ्नो मान्यतालाई स्थापित गर्न हरदम क्रियाशील रहको छ ।

यस क्रममा निर्वाचन सम्पन्न भएपछि त्यसको समीक्षा गर्ने, सुझाव लिने, असल अभ्यासलाई ग्रहण गर्ने र कमीकमजोरीलाई हटाउन आवश्यक सुधारको प्रक्रिया अगाडि बढाउने कार्यलाई आयोगले निरन्तरता दिनेछ ।”

उनले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिल्याई सबै सरोकारवालाको सुझाव तथा परामर्शमा नयाँ निर्वाचन कानूनको मस्यौदा तयार गरी नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्नेगरी तयारी गरिएको र सोे विधेयक निर्वाचन व्यवस्थापन सुधारको दिशामा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement