सुरक्षाविद् डा. भट्ट एमाले केन्द्रीय सदस्य बन्ने दौडमा

सुरक्षाविद् डा. भट्ट एमाले केन्द्रीय सदस्य बन्ने दौडमा


काठमाण्डु – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को छवि बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्टले नेकपा एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा लागेका छन् ।

महाधिवेशनमा सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उनले प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

लामो संगठनात्मक अनुभव र अन्तर्राष्ट्रिय दृष्टिकोणका आधारमा उनले केन्द्रीय नेतृत्वमा भूमिका खेल्ने दाबी गरेका छन् । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा सर्वाधिक मत पाएका थिए । डा. भट्टले ५६७ मत ल्याउँदा अर्का उम्मेदवारले ३३७ मत पाएका थिए । कार्यकर्ताबाट अत्यधिक मतले अनुमोदित भएका भट्ट अब पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने दौडमा छन् ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका डा. भट्ट पार्टीका नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

२०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका डा. भट्टले विभिन्न जिम्मेवारी सम्हालेका थिए । युनियनको महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गरेको अनुभव उनीसँग छ ।

डा. भट्ट २०५२ सालमा एमालेको संगठित सदस्य बनेका हुन् । त्यसयता उनले पिथौरागढ नगर कमिटी सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य तथा भारत प्रवास समन्वय कमिटी सदस्य लगायत जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा भूमिका खेलेका छन् । सम्पर्क विभाग, विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटीमार्फत पनि उनी पार्टीमा सक्रिय रहेका थिए ।

२०४६ सालको जनआन्दोलनका पक्षमा पिथौरागढमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ । राज्य सञ्चालन र नीति निर्माणको अनुभव समेत बटुलेका डा. भट्ट २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकलाई निर्वाचनमा पराजित गरेका थिए । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उनले परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयमा सक्रिय भूमिका निर्वाह गरे । यसअघि २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा पनि उनले काम गरेका छन् ।

शान्ति प्रक्रियामा समेत उनको भूमिका उल्लेखनीय रहेको छ । २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुन:स्थापना सम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा उनले काम गरेका थिए । २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा पनि उनले काम गरेका थिए ।

पार्टीको छैठौं महाधिवेशनमा स्वयंसेवक र सातौं, आठौं, नवौं तथा दशौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाइसकेका डा. भट्ट विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र सभाहरूमा सहभागी हुँदै पार्टी र देशका मुद्दा उठाउँदै आएका छन् ।

लामो संगठनात्मक अनुभव, गहिरो वैचारिक पकड, अन्तर्राष्ट्रिय दृष्टिकोण र संसदीय अभ्यासका आधारमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको डा. भट्टले बताउँछन् । पार्टीभित्र उनको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ ।