काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबिच समन्वय आवश्यक रहेको बताएका छन् ।
बुधबार मन्त्रालयले अहिलेसम्म गरेका निर्णयबारे छलफल गर्ने कार्यक्रममा बोल्दै मन्त्री साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा र ठगीका घटनाहरू मन्त्रालयका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका हुन् ।
मन्त्री साहले भने, ‘समाधान योजनाअन्तर्गत सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारीसम्बन्धी गुनासाहरू हुन् । ठगीका घटना धेरै छन् र यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । यस विषयमा मैले विभागसँग पटक–पटक छलफल गरिसकेको छु ।’
उनले यस विषयमा प्रधानमन्त्री बालेन शाहसँग पनि निरन्तर छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘हामी प्रधानमन्त्रीसँग छलफल गरिरहेको छांै । हामी कुन दिशामा जाने भन्ने विषयमा छलफल गरिरहेका छौं । त्यसअनुसार प्रधानमन्त्री र मेरो बीचमा तादम्यता मिल्नु आवश्यक छ । हामी समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं ।’
मन्त्री साहले मन्त्रालयमा रहेका फाइल र केसहरूको अवस्थाबारे स्पष्टता अभाव रहेको पनि स्वीकार गरे ।
‘धेरै फाइलहरू जलेका छन् भन्ने सुनेको छु । कसैले ४० हजार केस भन्छन्, कसैले ५० हजार, कसैले १८ हजार । यहाँ धेरै कुरामा कन्फ्युजन छ,’ उनले भने ।
उनले आफू मन्त्री भएर आएपछि यस्ता विषय लुकाउन नचाहेको बताउँदै थप भने, ‘मन्त्री भए पनि म यथार्थ लुकाउन चाहन्नँ । अहिले ती केसहरूको वास्तविक अवस्था बुझ्ने क्रममा छु । हामी स्पष्ट छौं कि ती केसहरू कसरी घटाउन सकिन्छ भन्नेमा काम गर्नुपर्छ ।’
मन्त्री साहले अवस्था स्वयं विरोधाभासपूर्ण रहेको स्वीकार गर्दै फाइल संकलनको काम भइरहेको जानकारी दिए ।
वैदेशिक रोजगारीमा रहेका कामदारहरूको अवस्थाबारे ट्रयाकिङ प्रणाली आवश्यक रहेको उनले उल्लेख गरे ।
उनले भने, ‘को मान्छे कुन अवस्थामा छ भन्ने ट्रयाकिङको व्यवस्था हुनुपर्छ । मेरो अर्को प्राथमिकता अकुपेन्सनल हेल्थ र सेफ्टी हो ।’




प्रतिक्रिया