काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बुधबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारूपमा सहमति गरेसँगै प्रसारण लाइन अगाडि बढाउन माघ ९ गते २ देशबीचको सहसचिव स्तरीय बैठक र माघ २९ गते सचिव स्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युत्मन्त्रीलाई धन्यवाद दिए ।
ऊर्जामन्त्री खड्काले गत वर्षको १५ नोभेम्बरमा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म)मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरेका छन् ।
हाल भारतले नेपाललाई १ हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।
ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिए पनि बुधबारको भेटमा फेब्रुअरी अन्तिम हप्ता नेपाल भ्रमण हुने गरी छलफल भएको छ ।
भेटमा भारतका विद्युत्मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैं भारतको साथ र सहयोग रहेको बताएका थिए । उनले २ देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताएका थिए । भारतका विद्युत्मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत सहभागी थिए ।
भारतीय तर्फबाट विद्युत्मन्त्री खट्टरसँगै विद्युत् सचिव पंकज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति थियो ।




प्रतिक्रिया