दीपक र साहिलको प्रस्टोक्ति : जेनजी आन्दोलनसँग हाम्रो कुनै सरोकार छैन

दीपक र साहिलको प्रस्टोक्ति : जेनजी आन्दोलनसँग हाम्रो कुनै सरोकार छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि त्यसमा संलग्न भएको आरोप लागिरहेका व्यवसायीहरूले प्रस्टीकरण दिएका छन् ।

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रूपका सञ्चालक साहिल अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हाल केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक र आधारहीन भएको बताएका छन् ।

कोभिड–१९ महामारीको समयमा मात्र उनीहरूले ‘हामी नेपाल’ नामक संस्थासँग सहकार्य गरेका थिए । विपत्तिमा परेका हजारौं नेपालीलाई उपचार र पुन:स्थापनामा सहयोग गर्ने क्रममा संस्थाका अगुवा सुदन गुरुङसँग चिनजान भएको तर त्यसयता कुनै पनि सहकार्य नभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । उनीहरूको भनाइमा त्यो सहयोग पूर्ण रूपमा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको थियो र त्यसबारे सार्वजनिक जानकारी समेत दिइएको थियो ।

‘सुदन गुरुङ र उनको संस्थासँग हालको राजनीतिक गतिविधि वा अन्य कुनै संस्थागत सम्बन्ध हाम्रो छैन,’ विज्ञप्तिमा भनिएको छ । तर पछिल्ला दिनमा केही सञ्चारमाध्यमहरूले उनीहरूको नामलाई जेनजी आन्दोलनसँग जोडेर भ्रामक समाचार प्रवाह गरेको भन्दै खेद प्रकट गरिएको छ ।

आन्दोलनकै क्रममा व्यावसायिक संस्थाहरूमा भएको तोडफोड र आगजनीबाट उनीहरूलाई पनि ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । विशेषगरी जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय होटल ‘हिल्टन’ सम्पूर्ण रूपमा आगलागीमा नष्ट भएको र यसले पर्यटन, व्यापार र मुलुकको समग्र छविमा गम्भीर धक्का पुगेको उनीहरूको भनाइ छ ।

यद्यपि ठूलो क्षति भए पनि लगानीकर्ताहरू निराश नभएको भन्दै उनीहरूले फेरि देशमै उद्यमशीलता अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालमै केही गरेर देखाउने हाम्रो अठोट अझै कायमै छ,’ विज्ञप्तिमा भनिएको छ ।

भट्ट र अग्रवालले भ्रामक प्रचारमा नलाग्न सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा अपिल गर्दै आन्दोलनमा शहादत प्राप्त गर्नेहरूलाई श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।