४९ लाख धरौटी बुझाएर निस्किए शेयर कारोबारी अग्रवाल

४९ लाख धरौटी बुझाएर निस्किए शेयर कारोबारी अग्रवाल


काठमाण्डु– झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ । धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ ९ग० अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।

यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानविनको माग गर्दै भोक हडतालसमेत गरेका थिए । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ ।