काठमाडौ – परराष्ट्र मन्त्रालयले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि प्रमुखलाई नेपालको कूटनीतिक सम्बन्धमा जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियोगका प्रमुखहरुलाई गरेको ब्रिफिङमा अमेरिकी राजदूत रेन्डी डब्लु बेरी भने सहभागी भएका थिएनन् ।
राजदूत बेरी काठमाडौंमै रहे पनि प्रधानमन्त्री ओलीले गर्ने ब्रिफिङमा नगएका हुन्। प्रधानमन्त्री ओलीको ब्रिफिङ सुन्न उनले आफ्ना सहायकलाई पठाएका छन्। प्रधानमन्त्रीको ब्रिफिङमा अमेरिकी राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अमेरिकी राजदूतको यो अनुपस्थितिलाइ यसअघि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध जारी गरेको कडा विज्ञप्तिसँग जोडेर हेरिएको छ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । गोरखा भूकम्पपछि विसं २०७२ असारमा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो ।
विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगतिसमेत भएको बताएको डा भट्टराईले बताए ।




प्रतिक्रिया