पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदमा रहेर १ करोड अवैध सम्पत्ति आर्जन !

पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदमा रहेर १ करोड अवैध सम्पत्ति आर्जन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले विभिन्न पदमा रहेर १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ वैशाख १० सम्मको अवधिमा ८५ लाख ५१ हजार ३३४ रूपैयाँ आयआर्जन गरेको अनुसन्धानबाट पाइएको अख्तियारले जनाएको छ ।

उनी मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आय समेत गरी उनको आय ८५ लाख ५१ हजार मात्र भेटिएको अख्तियारले जनाएको छ ।

उनले जाँच अवधिमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ लगानी तथा खर्च गरेको पाइएको छ । जग्गा खरिद, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, उनको श्रीमती सञ्चालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेशसभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दात समेत गरी खर्च भएको अख्तियारले जनाएको छ ।

कुल आयभन्दा व्यय अधिक भएर सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झूटा विवरण पेश गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले उनी सार्वजनिक पदधारण गरेको व्यक्ति सांसद रहेकाले थप सजाय मागदाबी गरेको छ । उनी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।

अख्तियारले उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीलाई पनि प्रतिवादी बनाएको छ । उनीहरूको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।