धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार (साउन १८ गते) विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले १८ साउनमा विश्वासको मत लिन लागेका हुन् ।
संविधान अनुसार सरकारमा सहभागी दल सरकारबाट फिर्ता भएर समर्थन फिर्ता लियो भने ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही व्यवस्था अनुरुप सोडारीले विश्वासको मत लिन लागे पनि पाउने सम्भावना छैन ।
सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।




प्रतिक्रिया