दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीद्वारा महानगरीय प्रहरी वृत थिमि घेराउ

दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीद्वारा महानगरीय प्रहरी वृत थिमि घेराउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर-  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेका हो ।

मध्यपुरथिमिको बालकुमारीबाट शुरु भएको सयाैँको संख्यामा रहेको विरोध ¥याली, शंखधर चोक, चारदोबाटो, नेपाल–कोरियामैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो । प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नवीनप्रकाश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् । स्थानीयवासीले प्रहरी वृत्त थिमि घेराउ गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै नाराबाजी गरेका थिए ।