‘स्वास्थ्यकर्मीलाई अपरिहार्य रहेको बिदाको दिन ओपीडी सञ्‍चालन गर्न सकिन्‍न’

‘स्वास्थ्यकर्मीलाई अपरिहार्य रहेको बिदाको दिन ओपीडी सञ्‍चालन गर्न सकिन्‍न’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सक संघले अरुलाई जस्तै स्वास्थ्यकर्मीलाई पनि बिदा अपरिहार्य रहेकाले बिदाको दिन सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न नसकिने बताएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिनमा ओपिडी चलाउन सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै स्वाथ्यकर्मीलाई पनि बिदा अपरिहार्य रहेको बताएका हुन् ।

विज्ञप्तिमा डा. तिवारीले लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरुलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकुशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न सकिँदैन ।’

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह निर्देशन दिएपछि संघले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहररुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको विज्ञप्तिमा उल्लेख छ । निर्णय तुरुन्तै फिर्ता लिन संघले माग गरेको छ ।

सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको महासचिव डा. तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको विज्ञप्तिमा उल्लेख गर्दै डा. तिवारीले नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको जनाएका छन् ।

‘स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर जाने हुँदा गुणस्तरीय सेवामा असर पर्छ’, डा. तिवारीले विज्ञप्तिमा लेखेका छन्, ‘बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

कतिपय स्वास्थ्यकर्मीमा अत्यधिक तनावका कारण मानसिक समस्याको जोखिम बढिरहेको भन्दै चिकित्सक संघले बिदाको दिनमा समेत थप कार्यबोझ थप्ने निर्णयले स्वास्थ्यकर्मीलाई ठूलो अन्याय गरेको निष्कर्ष निकालेको छ ।

कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ ।