अपराध अनुसन्धानका लागि प्रहरीले धनगढीमा खोल्यो ‘डग केनेल’ शाखा


धनगढी– नेपाल प्रहरीले प्रदेश नम्बर ७ को राजधानी धनगढीमा तालिमम प्राप्त कुकुर शाखा ‘डग केनेल’ को शाखा विस्तार गरेको छ। अपराध, अनुसन्धानका लागि भन्दै प्रहरीले चारवटा तालिमम प्राप्त कुकुर राखेर शाखा विस्तार गरेको हो।

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गरे। ६ वटा कुकुरको बासस्थानसहित ९ वटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो।

विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको एआईजी नेपालले बताए। कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउँछन्।

१६ वर्षदेखि तालिमम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आउनुभएका गुरुङ भन्छन्, ‘मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालिममप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ।’

कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि शुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ। त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ। एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement