काठमाण्डु – के तपाईंलाई पनि कुकुरको आँखामा हेर्दा मन पग्लिहाल्छ ? कुकुरले हामीलाई यति चाँडो कसरी बुझ्छ होला ? यो माया नयाँ होइन, यो त ४० हजार वर्षभन्दा पनि पुरानो कथा हो। आगो वरिपरि बसेका पुराना मानिस र ब्वाँसाहरूको बिचमा सुरु भएको एउटा विश्वासले आज हामी र कुकुरलाई साँच्चैको साथी बनायो।
मानिनले कुकुरलाई किन धेरै मन पराउन थालेको वा उसलाई माया गर्न थालेको पछाडि जीव वैज्ञानिकहरूको विभिन्न मत छ ।
पहिलो मतअनुसार मानिसले ब्वाँसोका साना बच्चा हुर्काए । पहिला मानिसहरूले कम डराउने, साना ब्वाँसोका बच्चा समातेर आफूसँग राख्न थाले। ती बच्चालाई खाना दिए, माया गरे। धेरै पुस्तापछि ती ब्वाँसोहरू जंगली बानी छोडेर मान्छेसँगै बस्न थाले। शिकार गर्न, घर हेर्न र साथ दिन थाले। यसरी बिस्तारै कुकुर बने।
दोस्रो मतअनुसार ब्वाँसो आफैँ नजिक आए । केही ब्वाँसाहरू मानिसको बस्तीमा बाँकी खाना खान आउँथे। मानिसलाई खतरा हुँदा भुक्थे। यसरी मान्छेलाई पनि फाइदा, ब्वाँसोलाई पनि खाना। जसलाई मानिससँग कम डर लाग्थ्यो, ती ब्वाँसाहरू बाँच्थे र बच्चा जन्माउँथे। यही प्राकृतिक छनोटले कुकुरको पहिलो पुस्ता बन्यो।
समय सँगै कुकुरको बनावटमा पनि केही परिवर्तन आयो। प्राध्यापक लार्सनले बताएअनुसार कुकुरको आँखीभौँ माथि एउटा विशेष मांसपेशी हुन्छ, जुन ब्वाँसोमा हुँदैन। यो मांसपेशीले कुकुरलाई सधैँ बच्चा जस्तै माया लाग्ने अनुहार दिन्छ। सन् २०१९ को अध्ययनले पनि कुकुरले हामीलाई जित्न यो विशेषता आफैँ विकास गरेका हुन् भन्छ।
अमेरिकाको एमोरी विश्वविद्यालयले परीक्षण गर्यो। जब कुकुरले आफ्नो माया गर्ने मान्छेको गन्ध पाउँछ, उसको दिमागको ‘खुशी भाग’ एकदमै सक्रिय हुन्छ। यसको मतलब कुकुरले हामीलाई केवल माया मात्र गर्दैन, हामीलाई साँच्चै महसुस गर्छ।




प्रतिक्रिया