काठमाण्डु – कतारस्थित नेपाली राजदूतावासले सेवाग्राहीहरूको भीड, होहल्ला र अव्यवस्थित पार्किङका कारण छिमेकीहरूलाई असुविधा पुगेको भन्दै विशेष सूचना जारी गरेको छ ।
दोहास्थित नेपाली राजदूतावासले बिहान सबेरैदेखि कार्यालय परिसर बाहिर अनावश्यक भीडभाड र होहल्ला गर्ने सेवाग्राहीहरूका गतिविधिबाट आसपासका वासिन्दा प्रभावित भएपछि अनुशासनका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
राजदूतावासले हालै प्रकाशित सूचनामा सेवाग्राहीहरूले बिहान ५ बजेभन्दा अघि राजदूतावास परिसर बाहिर भेला हुने, खुला स्थानमा लामो समय सवारीसाधन पार्क गर्ने, ठूलो स्वरमा कुरा गर्ने र होहल्ला गर्ने जस्ता क्रियाकलापले छिमेकमा असहजता सिर्जना भएको उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, ‘कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिनुहुन, छिटो आउनैपर्ने भए बिहानको ८ बजे मात्र आइपुग्नुहुन, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनहुन एवं काार्यलय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’
कार्यालय वरिपरि लामो समयसम्म अनावश्यक रूपमा बस्ने वा भीडभाड गर्ने कार्य नगर्न पनि सबैलाई आग्रह गरिएको छ ।
राजदूतावासले सेवा लिन आउने व्यक्तिहरूले शिष्टाचार र मर्यादाको पालनासहित निर्धारित समयमा मात्र सेवा लिन आए दूतावासको कार्य सञ्चालन सहज हुने बताएको छ ।
यस्तो छ सूचना –





प्रतिक्रिया