अमेरिकाले विश्वकै उत्कृष्ट मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ बनाउने

अमेरिकाले विश्वकै उत्कृष्ट मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले महत्त्वाकांक्षी मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ को योजना सार्वजनिक गरेको छ । यस महत्त्वाकांक्षी परियोजनाको नेतृत्व अमेरिकी अन्तरिक्ष सेनाका उप प्रमुख जनरल माइकल गुएटलाइनले गर्नेछन् ।

यो प्रणाली उनको कार्यकाल अन्त्यसम्म सञ्चालनमा आउनेछ । गत जनवरीमा ह्वाइट हाउसमा राष्ट्रपति पदमा फर्किएको केही दिनपछि नै ट्रम्पले यो प्रणालीको योजना ल्याउने बताएका थिए । यसले ब्यालिस्टिक र क्रुज मिसाइलजस्ता अमेरिकामाथि हुने नयाँ पुस्ताको हवाई खतराविरुद्ध काम गर्नेछ ।

जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षा र अस्तित्वका लागि अत्यन्त महत्त्वपूर्ण भनेका छन् । ट्रम्पले यो प्रणाली करिब तीन वर्षभित्र सञ्चालनमा आउने आशा व्यक्त गरेका छन् ।

‘गोल्डेन डोम’ पूर्ण रूपमा निर्माण भएपछि विश्वका कुनै पनि कुनाबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई अवरुद्ध गर्न सक्षम हुन दाबी गरिएके छ । यसलाई अहिलेसम्म बनाइएको सबैभन्दा उत्कृष्ट प्रणाली भएको दाबी गर्दै अन्तरिक्षबाटै प्रहार भएपनि मिसाइलहरूलाई यसले रोक्ने क्षमता रहेको जनाइएको छ ।

यस अत्याधुनिक प्रणालीको संरचना तय भइसकेको ट्रम्पले जानकारी दिएका छन । यसमा जमिन, समुद्र र अन्तरिक्षमा आधारित प्रविधिहरू प्रयोग गरिनेछ, जसमा अन्तरिक्षमा आधारित सेन्सर र इन्केप्टरहरू पनि समावेश हुनेछन् ।

परियोजनाको अनुमानित लागत करिब १७५ बिलियन डलर हुने जनाइएको छ । आगामी वर्षको रक्षा बजेटमा प्रारम्भिक २५ बिलियन डलर पहिले नै छुट्याइएको छ ।

ट्रम्पले लामो समयदेखि अमेरिकाको लागि इजरायलको आइरन डोम जस्तै मिसाइल रक्षा प्रणाली बनाउने चाहना व्यक्त गर्दै आएका थिए ।

यसअघि मार्चमा काँग्रेसलाई सम्बोधन गर्दै उनले ‘गोल्डेन डोम’ निर्माणको लागि बजेट पारित गर्न आग्रह गरेका थिए । जनवरीमा कार्यभार सम्हालेको केही दिनमै ट्रम्पले ‘द आइरन डोम अफ अमेरिका’ निर्माण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यो प्रणाली आंशिक रूपमा इजरायलको आइरन डोम प्रणालीबाट प्रेरित छ । यसले २०११ देखि रकेट र मिसाइलहरू अवरोध गर्दै आएको छ ।

तर, ‘गोल्डन डोम’ आइरन डोमभन्दा धेरै गुणा ठूलो हुने र ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्नसक्ने हाइपरसोनिक हतियारहरू र अन्तरिक्षबाट युद्धक हतियार पठाउन सक्ने ‘फ्रयाक्सनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम’जस्ता खतराविरुद्ध लड्नेगरी डिजाइन गरिएको छ ।