जेलबाट छुटेका बालकृष्णको आक्रोश : ‘डलरवादी’हरुको अभियानप्रति घृणा व्यक्त गर्छु


काठमाडौं – गणतन्त्र दिवसको अवसरमा पूर्वसांसद समेत रहेका बालकृष्ण ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

रिहा भए लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूमाथि षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’ उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे ।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि ढुंगेल आजै जेलमुक्त भएका हुन्।

सर्वोच्चले आज ढुंगेलसम्बन्धि सक्कल फाइल झिकाउने आदेश दिएको भए पनि राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको हो।द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए। पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए। तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी गत कात्तिक १४ गते पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement