गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, बन्धकका परिवारसँग भेट गर्ने

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, बन्धकका परिवारसँग भेट गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन् ।

गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरू पहिलो चरणमा सोमबार मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यस्तै, इजरायलले करिब २५० प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीहरूलाई रिहा गर्नुपर्नेछ ।

इजरायलमा ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुनेछन् । त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन् ।

संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा वास्तविक प्रगति भएको जनाएको छ । गएको शुक्रवारदेखि खाना पकाउने ग्यास, खाना, औषधि, फलफूल र टेन्ट जस्ता सामग्री गाजामा पठाउन थालिएको छ ।

इजिप्टको राफाह नाकामा सयौं राहत सामग्रीका ट्रकहरू गाजातर्फ प्रवेशका लागि तयारी अवस्थामा छन् ।

यसबीच अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै युद्ध समाप्त भएको बताएका छन् ।

बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई विध्वंसको थलो जस्तो देखिएको उल्लेख गरे ।

अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १,२०० मानिस मारिएका र २५१ जनालाई बन्धक बनाइएको थियो । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसपछि इजरायलको सैन्य कारबाहीमा १८,००० भन्दा बढी बालबालिका सहित ६७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।